No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बेनी अस्पतालमा विशेषज्ञ सेवा विस्तार

0

बेनी । दुर्गम हिमाली जिल्ला म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले विशेषज्ञ सेवा विस्तार गरेको छ । प्रदेश लोकसेवा आयोगबाट पदस्थापन भएका, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका र आन्तरिक स्रोतबाट भर्ना गरिएका १० विशेषज्ञ र आठ जना मेडिकल अधिकृतले सेवा दिएका छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले चिकित्सकहरू थपिएसँगै विभिन्न विशेषज्ञ सेवाहरू विस्तार गरिएको जानकारी दिए । “सर्वसाधारणलाई निजी क्लिनिक र जिल्लाबाहिर जानुपर्ने समस्या हटाउन जनशक्ति र उपकरण व्यवस्थापनसँगै पूर्वाधार निर्माणमा जोड दिएका छौँ,” उनले भने, “दुई वर्षपछि अस्पतालको सुविधासम्पन्न ५० शय्या क्षमताको भवन निर्माण पनि सुचारु भएको छ ।”

पछिल्लो समय फिजिसियन विशेषज्ञ, ज्येष्ठ नागरिक उपचार कक्ष, अत्याधुनिक एक्स–रे, सामाजिक सुरक्षा एकाइको सेवा थप गरेको अस्पतालले छिट्टै मानसिक रोग र फिजियोथेरापी सेवा सुरु गर्न लागेको जनाएको छ ।

यसअघि आठजना मेडिकल अधिकृत र चिकित्सक कार्यरत अस्पतालमा यसै हप्ता लोकसेवा आयोग र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप छ विशेषज्ञसहित नौजना चिकित्सक आएका अस्पतालका प्रमुख चिकित्सक डा शङ्करराज लामिछानेले बताए । “जनशक्ति थपिएसँगै कार्यरत चिकित्सकलाई कार्यबोझ घट्ने, बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने समस्या हट्ने र उपचार सेवा सहज भएको छ”, उनले भने, “स्त्रीरोग, हाडजोर्नी, फिजिसियन, जनरल सर्जन, दन्त, अर्थोपेडिक, आँखा उपचारसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गरेका छाँै ।”

गण्डकी प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका जनरल सर्जन डा परिवर्तन बराल र स्त्रीरोग विशेषज्ञ डा अञ्जु थापाको बेनी अस्पतालमा पदस्थापन भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अर्थोपेडिक्स डा सुमन सुवेदी, इन्टरनल मेडिसिन डा अमित प्रजापति, जनरल सर्जरी डा कल्पना आचार्य र छात्रवृत्ति करारका डा प्रशान्त गुरागाईं पनि बेनी अस्पतालमा आएका छन् ।

एकजना मानसिक रोग विशेषज्ञ सरुवा भएर बेनी अस्पतालमा आउन लाग्नुभएको र उपकरण खरिद, जडान र सबै व्यवस्थापकीय काम सकिएकाले केही दिनमै फिजियोथेरापी सेवा सुरु गर्न लागिएको चिकित्सक लामिछानेले बताए ।

अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागकासाथै शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलाइसिस सेवा सञ्चालन गर्दै आएको छ । मिर्गाैला रोगसम्बन्धी समस्या भएका १९ जनाले डायलासिस सेवा लिएका छन् ।

सामाजिक सेवा एकाइमार्फत लक्षित समुदायलाई सहुलियत र निःशुल्क उपचार सेवा दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको एक करोड ५० लाख मूल्य बराबरको डिजिटल एक्स–रे मेसिन प्रयोगमा ल्याइएको अस्पताल परिसरमा अक्सिजन प्लान्ट सञ्चालनमा छ ।

म्याग्दीका साथै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङका सर्वसाधारण गरी मासिक चार हजारजनाको हाराहारीमा बेनी अस्पतालबाट सेवा लिने गरेका छन् । पचास शय्या क्षमताको अस्पतालले १५ शय्याकै संरचना र पूर्वाधारबाट ७६ शय्याको सेवा दिएको छ । पचास शय्या क्षमताको भवन निर्माणमा भएको ढिलाइका कारण अस्थायी पूर्वाधारबाट सेवा सञ्चालन गरिएको छ ।

 

प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार १३:४७

Leave a Reply