No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बलिउड चलचित्रमा नेपाली अभिनेता टङ्क

0

काठमाडौं । लियो ट्याङ्कको उपनामले परिचित नेपाली चलचित्र तथा साङ्गीतिक भिडियोमा देखिएका अभिनेता टङ्क धमलाले हालै भारतीय चलचित्र ‘एनिमल’ मा अभिनय गरेका छन् । ‘अर्जुन रेड्डी’ र त्यसको रिमेक ‘कविर सिंह’ निर्देशन गरेर स्थापित भएका निर्देशक सन्दीप रेड्डी भाङ्गाको ग्याङ्सटर ड्रामामा काम गर्दा धेरै कुरा सिकेको उनले बताए ।

“झन्डै दुई साता छायाङ्कन भयो । बलिउडका प्रसिद्ध कलाकारसँग काम गर्दा मैले सिक्ने अवसर पनि पाएँ”, अभिनेता धमलाले भने, “म एजेन्सीमार्फत चलचित्रमा छानिएको हुँ । अभिनेता बबि देओलका भाइको भूमिका निर्वाह गर्न पाएँ, आत्मविश्वास बढेको छ ।”

नेपाली चलचित्र ‘सरौतो’ पश्चात नै नेपाली मिडिया र चलचित्रकर्मीको आँखामा परेका अभिनेता धमला बेलायत बस्ने भएकाले धेरै काम गर्न सकेका छैनन् ।

उनले बेलायतको तालिममा सहभागी भएर अभिनय गरेका हुन् । लन्डनमा पेसाले चार्टर्ड एकाउन्टेन्ट टङ्कले यसअघि नेपाली तथा ब्रिटिस चलचित्र, विज्ञापन, भिडियोमा काम गरिसकेका छन् ।

“गिल्फोर्ड एयरपोर्ट, हर्टफोर्डसायरस्थित ब्रोकेट हललगायत हेरिटेज साइटमा छायाङ्कन गरेँ । मैले अन्य प्रोजेक्टमा पनि काम गरेका कारण निर्धक्क प्रस्तुति दिएँ”, अभिनेता धमलाले भने, “चलचित्रमा के–कस्तो रूपमा देखिन्छु थाहा छैन । यद्यपि यसलाई मैले सिकाइका रूपमा सदुपयोग गरेँ ।”

चलचित्रमा अभिनेता रणवीर कपुर, बबि देओल, अनिल कपुर, तृप्ती डिम्री, रश्मिका मन्दना आदि कलाकारले अभिनय गरेका छन् । ‘एनिमल’ बाहेक उहाँले बलिउड निर्देशक जाइघम इमामको ‘सुपर वुमन’ र दिवाकर भट्टराईको ‘हनी बनी’ मा समेत अभिनय गरेका छन् ।

 

 

प्रकाशित: १४ बैशाख २०८०, बिहीबार १६:४८

Leave a Reply