No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अन्तरविद्यालय बास्केटबलको उपाधि एलएनए र एन्जल्स हार्टलाई

0

काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले प्रथम तारकेश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एलएनए सिनियर छात्रा तथा एन्जल्स हार्ट जुनियर छात्रतर्फ च्याम्पियन बनेका हुन् ।

तारकेश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको सिनियर छात्राको उपाधि भिडन्तमा एलएनएले न्यु एरालाई २३–१४ अङ्कले पराजित गरेको हो । एलएनएको जितमा सिमरन महर्जन एक्लैले आठ अङ्कको योगदान दिइन् ।

मनमैजुस्थित एलएनएको कोर्टमा बुधबार भएको जुनियर छात्र फाइनल खेलमा रुपेश पौडेलको १४ अङ्कको सहयोगमा एन्जल्स हार्टले एलएनएलाई ५१–३३ अङ्कले पराजित गर्यो । दुवै समूहतर्फ हिमरश्मीले तेस्रो स्थानमा चित्त बुझायो ।

फाइनलमा सर्वाधिक अङ्क जोडेका रुपेश र सिमरन आ–आफ्नो विधामा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । जुनियर छात्रतर्फ एलएनएका साहिद पुन तथा सिनियर छात्रातर्फ न्यु एराकी प्रनिशा श्रेष्ठ प्रतियोगिताकै सर्वाधिक अङ्क जोड्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहे । साहिदले ५६ तथा प्रनिशाले ५० अङ्क बनाइन् ।

विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, काठमाडौँ प्याब्सनका अध्यक्ष प्रेमकुमार राई, तारकेश्वर नगर प्याब्सनका अध्यक्ष धनबहादुर पुन र उपाध्यक्ष गोपाल बुढाथोकी, तारकेश्वर नगरपालिका–१० का अध्यक्ष कुमार राईलगायतले पुरस्कार प्रदान गरे ।

यही जेठ २५ गतेदेखि आरम्भ भएको प्रतियोगिताको जुनियर छात्रतर्फ १६ तथा सिनियर छात्रातर्फ १४ टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित: ३१ जेष्ठ २०८०, बुधबार १३:५५

Leave a Reply