No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जंगमकै आदेश अनुसार काम गरेको लेखा समिति प्रमुखको दाबीः सहकारी भित्रको अनियमिततामा विभागको छानबिन सुरु

0

काठमाण्डौं । जुन संस्थामा लामो समय काम गर्यो, त्यही संस्था विरुद्ध सरकारी अड्डामा उजुर बाजुर र मुद्दा मामिला गर्दा कतिसम्म नरमाईलो लाग्दो हो, कुनै पनि संस्थाको निष्ठावान कर्मचारीलाई ? रामहरि अधिकारी भन्ने एकजना सहकारी कर्मचारी अहिले यही नियतिबाट गुज्रिरहेका छन् । लामो समय काम गरेका सहकारीका अध्यक्षले नै आफू विरुद्ध जाईलागेपछि अधिकारी पनि जस्तालाई त्यस्तै गर्न पछि परेनन् ।
कुरोको चुरो जोडिएको छ, स्वनामधन्य भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगमसँग । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता दावी गर्ने एकजना भद्र पुरुष भरत जंगमले सञ्चालन गरेको एक सहकारीमा नै निकै भद्रगोल अवस्था देखिएको छ ।

सहकारीको ढुकुटी आफ्नो तजबिजमा चलाउने अनि नियम विपरित हिसाब गोलमाल भएपछि लेखा समिति प्रमुखलाई बलिको बोका बनाउने जंगमको षड्यन्त्रको पर्दाफास सहकारी विभाग नगरपालिकाको कार्यालय काठमाडौंले २०८० जेठ २ गते रामहरि अधिकारीलाई हिसाब मिलान गर्न लेखेको पत्रको व्यहोरासँगै खुलेको हो ।

सहकारी विभागमा जंगमले आफ्नै लेखा समिति प्रमुख रामहरि अधिकारीले गोलमाल गरेको आरोप लगाउँदै उजुरी गरेका थिए । तर सहकारी विभागमा लेखा समिति प्रमुख रामहरि अधिकारीले दिएको प्रत्युत्तरमा आफूले सबै काम अध्यक्ष भरत जंगमकै आज्ञा र आदेश अनुरुप गरेको स्पष्ट पारेपछि अब जंगम पानी माथिको ओभानो हुन नसक्ने भएका छन् ।

जंगमले महाराजगंज एरिया कार्यक्षेत्र भएको साई सहकारी गैरकानुनी रुपमा आफ्नै वानेश्वर घरक्षेत्रबाट संचालन गरेको समेत पाइएको छ । एउटा कर्मचारीमाथि संस्थाको रकम हिनामिनाको भार बोकाउन खोज्दा जंगम आफैं अनियमिततामा फस्ने घटनाक्रमहरुले देखाएका छन् ।
स्मरणीय छ, जंगम नेतृत्वको साई स्वागत बचत तथा ऋण सहकारीले बचतकर्ताको ५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ । जंगमको सहकारीले रकम हिनामिना गरेपछि बचतकर्ताहरू मिलेर काठमाडौं महानगरपालिको सहकारी विभागमा सामूहिक उजुरी दिएका छन् ।

आफ्नै लेखा समिति प्रमुख रामहरि अधिकारीलाई बलिको बोका बनाएर आफ्नै सहकारीबाट दोहोरो लाभ लिएको रहस्योद्घाटन भएपछि उनले आफ्नो छाताको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी धर्मपत्नी निकिता पौडेललाई उपाध्यक्ष बनाएर ओत लाग्न खोजे पनि त्यसबाट पनि अध्यक्ष जंगमका कर्तूतहरु छताछुल्ल हुन रोकिएको छैन ।

लामो समयसम्म साई सहकारीमा लेखा समिति प्रमुख बनेका रामहरि अधिकारीलाई जंगमले हाम्रो कृषि बहुउदेश्यीय सहकारी संस्थामा समेत सिईओ बनाई हाम्रो कृषि सहकारीबाट १ करोड ३० लाख रुपैया साई सहकारीमा सिफ्ट गराए पनि त्यसको पनि अहिलेसम्म कुनै हिसाब किताब नगरेको बुझिएको छ । एक सहकारीको रकम अर्को सहकारीमा सिईओ मार्फत लगेको तर साँवा व्याज एक सुको पनि अहिलेसम्म नबुझाएको हाम्रो कृषि सहकारीका अधिकारीहरुले जनाएका छन् ।

पछिल्ला दिनमा सहकारीहरुका बदमासीका श्रृखलाहरु क्रमशः बाहिरिदै गएका बेला भरत जंगम जस्तो स्वघोषित कथित भ्रष्टाचार विरोधी अभियन्ताको साई सहकारीको मनपरीमाथि अब सहकारी विभागले नै कडा कारवाही चाल्नुपर्ने खाँचो रहेको उपलव्ध तथ्यहरुले स्पष्ट पारेका छन् ।

प्रकाशित: २ श्रावण २०८०, मंगलवार १२:४९

Leave a Reply