No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

टेलिभिजन रियालिटी शो ‘महा गफाडी’ घोषणा

0

 

काठमाडौं । नयाँ टेलिभिजन हास्य कार्यक्रम (टेलिभिजन रियालिटी शो)  ‘महा गफाडी’ घोषणा गरिएको छ । मनोरञ्जनका विविध विधामध्येको एक विधा– वाककलामा आधारित कार्यक्रममार्फत बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरूलाई अवसर दिइने निर्देशक नरेशनाथ योगीले जानकारी दिए ।

उनले भने, “कतिले सजिलै गफाडी उपमा पनि दिँदै आएका छन् । तिनै गफाडी, वाककलाका धनीहरूको खोजी गर्ने एक नवीन प्लेटफर्म हो महा गफाडी ।”

यो कार्यक्रममा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले आफ्नो सहभागिता जनाउन सक्नेछन् । आफ्नो मातृभाषामा पनि अडिसन दिन पाइने तथा अवस्था हेरेर कुनै कुनै प्रस्तुति पनि दिन पाइने भएता पनि प्राथमिकतामा भने नेपाली भाषालाई नै राखिएको उनले बताए ।

कार्यक्रमको निर्णायकका रूपमा नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा लामो समयदेखि आफ्नो उपस्थितिले सबैलाई मनोरञ्जन दिइरहेका कलाकार शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ छन् । यस्तै, कार्यक्रमलाई अभिनेता कामेश्वर चौरसियाले सञ्चालन गर्नेछन् ।

आफू गफाडी नभएकै कारण कार्यक्रममा जोडिएको निर्णायक रहनुभएका अभिनेता तामाङले जानकारी दिए । उनले भने, “प्रस्ताव आउँदा म केही अचम्मित भएँ । यद्यपि कार्यक्रमको ढाँचाले मलाई आकर्षित ग¥यो । मेरो लागि यो नयाँ अनुभव हुनेछ ।”

निर्णायककै भूमिकामा रहेकी अभिनेत्री तुलाधरले सबै आ–आफ्नै भाषामा आफ्नो कला देखाउनु पाउनु सुखद रहेको बताए । “हामीले सोच्ने हास्य प्रहसन भाषिक अस्वतन्त्रताका कारण चाहेजस्तो व्यक्त गर्न पाइँदैन । यसमा सबैले आफ्नै भाषामार्फत प्रस्तुति दिन पाउनेछन् । यो पनि नयाँ प्रयोग हो”, अभिनेत्री तुलाधरले भने ।

आफ्ना ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानमार्फत आफूलाई महागफाडीको दाबेदारका रूपमा प्रस्तुत गर्ने कार्यक्रममा विजेतामध्ये प्रथम हुनेले नगद  १५ लाख र सवारीसाधन, द्वितीय हुनेले नगद १० लाख र सवारीसाधन तथा तृतीय हुनेले नगद  पाँच लाख र सवारीसाधन प्राप्त गर्नेछन् ।

सोह्र हप्तासम्म चल्ने कार्यक्रम अवधिभर प्रतियोगीहरूले कुनै भाषा, लैङ्गिक, समुदाय, जातजाति, धर्म सम्प्रदायलाई प्रत्यक्ष नकारात्मक असर पर्ने गरी कुनै प्रस्तुति दिन पाउने छैनन् ।

 

प्रकाशित: १४ श्रावण २०८०, आईतवार १४:५५

Leave a Reply