काठमाडौं । ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा राजधानी काठमाडौँमा यही पुस २६ गतेदेखि सञ्चालन हुने प्रतियोगिताका लागि गण्डकी प्रादेशिक क्रिकेट सङ्घले विपिन खत्रीको कप्तानीमा १८ सदस्यीय प्रदेशबाट खेल्ने खेलाडी छनोट गरेको हो ।
टोलीमा १४ नियमित र चार वैकल्पिक खेलाडी छन् । टोलीको उपकप्तानमा विशाल पौडेल छन् । अन्य खेलाडीमा विधान श्रेष्ठ, दीपक डुम्रे, अर्जुन कुमाल, अनिल गुरुङ, गोविन्द विक, सन्दीप खत्री, अभिषेक बस्नेत, कमल परियार, सुभाष भण्डारी, अशोक श्रेष्ठ, कृष्ण पौडेल र चन्द्रकान्त पौडेल रहनुभएको गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुले जानकारी दिए ।
यसैगरी वैकल्पिक खेलाडीमा अमृत गुरुङ, दिनेश बुढामगर, रोविन तिमिल्सिना र समीर पौडेल छन् । टोलीको प्रशिक्षकमा रिनज प्रजु र टिम व्यवस्थापक चन्द्रकुमार गुरुङ (जिम्मी) चयन भएका छन् ।
सङ्घले प्रधानमन्त्री कपका लागि खेलाडी छनोट गर्न गत पुस ९ देखि १३ गतेसम्म पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा प्रादेशिक छनोट प्रतियोगिता आयोजना गरेको थियो । स्याङ्जा, तनहुँ, कास्की र नवलपुर गरी चार जिल्लाको सहभागिता रहेको प्रतियोगितामा कास्कीले शतप्रतिशत नतिजा निकालेर च्याम्पियन बन्न सफल भएको थियो ।
प्रतियोगितामा खेलाडीको प्रदर्शनका आधारमा प्रधानमन्त्री कपका लागि खेलाडी छनोट गरिएको सङ्घका अध्यक्ष प्रजुले बताए । प्रतियोगितामा गण्डकी प्रदेशले आफ्नो पहिलो खेल पुस २७ गते प्रदेश नं २ सँग खेल्ने खेल तालिका छ ।
क्यानले प्रधानमन्त्री कप क्रिकेट टी–२० ढाँचामा खेलाउन लागेको हो । प्रतियोगितामा देशका सात प्रदेश र त्रिभुवन आर्मी, नेपाल पुलिस र नेपाल एपीएफ क्लब गरी १० टोलीको सहभागिता रहने क्यानले जनाएको छ ।