+

स्कटल्यान्डमाथि नेपालको सानदार जित, अंकतालिकामा पाँचौँ स्थानमा उक्लियो

४ जेष्ठ २०८३, सोमबार १५:४१

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। जारी शृंखलामा यो नेपालको दोस्रो जित हो। यस जितसँगै नेपाल लिग २ को अंकतालिकामा दुई स्थान फड्को मार्दै पाँचौँ स्थानमा उक्लिएको छ।

कीर्तिपुरस्थित त्रिवि (टीयू) क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा कप्तान रोहित पौडेलले कप्तानी इनिङ खेले। उनी ७४ रनमा अविजित रहे। रोहितले ९८ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे। उनले चौथो विकेटका लागि इशान पाण्डेसँग शतकीय साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए। अर्धशतकीय इनिङ खेलेका इशानले ६१ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५५ रन बनाए।

त्यसअघि, ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५८ रनको ओपनिङ साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। कुशल २८ र आसिफ २९ रनमा आउट भए। अन्य ब्याटरमा उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे। बलिङतर्फ स्कटल्यान्डका मार्क वाटले २ र ब्रेन्डन म्याकमुलेनले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमा अलआउट भएको थियो। स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा ६ छक्का र ६ चौकाको मद्दतमा सर्वाधिक ७३ रन बनाए।

यस्तै, माइकल इंग्लिसले ७२ बलमा ५१ रनको अर्धशतकीय इनिङ खेले। जर्ज मुन्सेले २१ र मार्क वाटले २० रन जोड्नुबाहेक अन्य ब्याटर चल्न सकेनन्।

स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका स्पिनर ललित राजवंशी घातक साबित भए। लामो समयपछि विकेटविहीन यात्रा टुङ्ग्याउँदै ललितले ८ ओभरमा ३२ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए।

नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए। यस क्रममा उनले ओडीआई (एकदिवसीय अन्तर्राष्ट्रिय) क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अस्ट्रेलियाका मिचेल स्टार्कको विश्व कीर्तिमान तोडेका छन्। सन्दीपले मात्र ७३ खेलमा यो ऐतिहासिक उपलब्धी हासिल गरे। यसअघि स्टार्कले ७७ खेलमा यो कीर्तिमान बनाएका थिए।

नेपालका लागि नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले पनि १–१ विकेट बाँडे।

यो जितसँगै २७ खेलबाट २२ अंक जोड्दै नेपाल सातौँबाट पाँचौँ स्थानमा उक्लिएको छ। समान २२ अंक भए पनि नेट रनरेटमा पछि पर्दै नामिबिया छैटौँ स्थानमा खस्किएको छ। २४ खेलबाट २१ अंकसहित क्यानडा सातौँ र १४ अंकसहित यूएई पुछारमा छन्।

हारका बाबजुद स्कटल्यान्ड ३१ खेलबाट ३८ अंकका साथ शीर्ष स्थानमै यथावत छ। २६ खेलबाट ३६ अंकसहित अमेरिका दोस्रो, २८ खेलबाट ३१ अंकसहित ओमान तेस्रो र २४ खेलबाट २८ अंकसहित नेदरल्यान्ड्स चौथो स्थानमा छन्।

नेपालले अब त्रिकोणीय सिरिजको अन्तिम खेल आगामी शुक्रबार अमेरिकासँग खेल्नेछ।