जेपी गुप्ता ।
प्रदेश २ को नामाकरण “मधेस प्रदेश” हुनु थोरै सन्तोषको बिषय हो। मुलुक भरका उपेक्षित तथा बहिष्कृत जात जाति एवं समुदायहरूको पहिचानको मान्यताका लागि भएका आन्दोलनहरूको शायद यो एक पछिल्लो सानो उपलब्धि हो। पहिलो मधेस आन्दोलनले २०६३ को अन्तरिम संबिधानमा नेपालका पूर्व-पश्चिम गरी दक्षिण तर्फका २२ जिल्लाहरूलाई “मधेस” भनिने मान्यतालाई स्थापित गरेको थियो। यदि यस यथार्थलाई साक्षी राखेर भर्खरै नामाकरण गरिएको प्रदेशलाई हेर्ने हो भने, यसलाई अतिरेक मूल्यांकन गर्नु जरूरी छैन। बरू यो जसपा र लोसपा जस्ता मधेसी दलहरूले आज पर्यन्त जुन जघन्य गलतीहरू गरेर आएका छन्-तेस सन्दर्भमा यिनीहरूको निर्लज्ज अनुहार छोप्ने “लाजको टालो” हो यो नामाकरण।
आसन्न निर्वाचनहरूको मुखमा गरिएको यो नामाकरणको निर्णयलाई ठूलो उपलब्धिको रूपमा प्रचारित गरि यी नामधारी मधेसी दलहरूले ‘खसीको टाउको अगाडी राखेर कुकुरको मासु बेच्ने’ सरहको काम गर्ने अवसर जुटाएको हो। सधैं भावनाको लहरमा बग्ने मधेसी समुदाय शायद यसैमा रमाउने पनि छन्। राजधानीको रूपमा जनकपुरको निर्णय स्वभाविक हो।
‘जनकपुर’ प्रादेशिक राजधानी बनाईएको बिरोधमा नेपाली काँग्रेस र एमालेले केही स्थानहरूमा बिरोध प्रदर्शन गरेको छ। यस खाले बिरोध प्रदर्शनलाई काँग्रेस तथा एमालेले हौस्याएको देखिन्छ। बस्तुत: यस खाले बिरोध मधेस आन्दोलनको समानान्तरमा खडा गरिएको “चुरे भावँर” नामको प्रतिरोधी कुकत्य कै अर्को रूप मात्र हो।
बिर्सन हुन्न् कि नेपाली काँग्रेस नेतृत्व कै संघीय सरकारले एमालेको सहमतिका साथ जनकपुर समेत ७ बटै प्रदेशको अस्थायी राजधानी तोकेको थियो। अहिले नेका र एमाले यसैमा खेल्न खोज्नु अनैतिक हुन्छ, यस गलत कार्यलाई बढावा दिनु हुदैन।