काठमाडौँ । कोभिड–१९को महामारीका बेलामा पनि महिला विरुद्धको हिंसाका घटनामा वृद्धि भएको छ। राष्ट्रिय महिला आयोगमा पदाधिकारीको एक वर्ष पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यही माघ २ गतेदेखि २० गतेसम्म मात्र २९४ वटा महिलाविरुद्ध भएका घटना दर्ता भएको जानकारी दिइएको हो।
आयोगका अध्यक्ष कमला पराजुलीले यही माघ महिनामा भौतिकरुपमा उपस्थित भएर घटना दर्ता गराउनेको मात्र तथ्याङ्क भएको र टोल फ्री नम्बरबाट पनि त्यतिकै घटनाका उजुरी दर्ता भएको बताइन् । आयोगले गम्भीर प्रकृतिका घटना स्थलगत अनुगमन गरी नेपाल सरकारलाई सुझाव प्रदान गरेर पीडितलाई सहयोगसमेत प्रदान गरेको छ। सातै प्रदेशका विभिन्न जिल्लामा गई विभिन्न सेवा प्रदायक निकायको अनुगमन गरेको छ।
एक वर्षमा भएका हिंसाका घटनामा आयोगले सहयोग गरेको छ। त्यसमा गोदावरीमा मट्टीतेल खन्याई जलाइएकी मुना मगरलाई लैंगिक हिंसा निवारण कोषबाट रु पाँच लाख उपलब्ध गराइएको छ। डोटीमा मट्टीतेल खन्याई जलाइएकी लक्ष्मी भाटलाई लैंगिक हिंसा निवारण कोषबाट पाँच लाख उपलब्ध गराइएको छ भने बलात्कारको प्रयास भएकी महिलालाई सोही कोषबाट रु तीनलाख उपलब्ध गराइएको छ।
स्वयम्भुमा बोक्सीको आरोपमा चरम यातना दिइएकी महिलालाई कोषबाट रु पाँच लाख उपलब्ध गराइएको भने छ। काठमाडौँ जोरपाटीबाट सडकमा अलपत्र परेका वृद्ध दम्पत्तिलाई उद्धार गरी वृद्धाश्रममा पुनःस्थापना गरेको छ।
त्यस्तै, आयोगले मानसिक समस्या भइ समयमै उपचार नपाइ खोरमा थुनिएकी फाल्गुनन्द गाउँपालिका–४ चिलिङ्गदिनकी ३५ वर्षीया नन्दकुमारी नेम्वाङको यही माघ ९ गते उद्धार गरी काठमाडौँमा पुनःस्थापना गृहमा राखी उपचार गरिरहेको छ।
आयोगले सरकारका सरोकारवाला निकायसँग कोरोनाको महामारीका समयमा लैङ्गिक हिंसा रोकथाम एवं नियन्त्रणका लागि उच्चस्तरीय समिति र सरोकारवालासँग छलफलसमेत गरेको छ।
महामारीमा महिला हिंसा बढ्यो
२१ माघ २०७८, शुक्रबार १५:१०