+

लुम्बिनी प्रदेशमा कांग्रेसका मन्त्रीहरूले बुझाए राजीनामा

१० श्रावण २०८३, आईतवार २०:४१

बुटवल। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता साझेदारीको सहमति भएपछि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्।

कांग्रेसबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज), सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले आफ्नो राजीनामा पत्र दलको कार्यालयमा बुझाएका हुन्।

कांग्रेस प्रमुख सचेतक जमुना ढकालका अनुसार पाँचैजना मन्त्रीका राजीनामा प्राप्त भइसकेका छन् र भोलि (सोमबार) औपचारिक रूपमा मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइनेछ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सांसद कायम रहेका छन्। यसअघि एमाले र कांग्रेसको संयुक्त सरकार रहेकोमा, २७ सांसदसहितको कांग्रेस बाहिरिएसँगै १३ सांसद रहेको नेकपा सरकारमा भित्रिएको छ। अब बन्ने नयाँ समीकरणका लागि एमाले (२९) र नेकपा (१३)लाई बहुमत पुर्याउन साना दल वा स्वतन्त्र सांसदको साथ आवश्यक पर्छ।

मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीहरूको राजीनामा आउने निश्चित भएसँगै केन्द्रको नयाँ समीकरण र निर्देशनअनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई समेत साथमा लिएर एक-दुई दिनमै सरकार पुनर्गठन र विस्तारको प्रक्रिया अघि बढ्ने बताएका छन्।