+

नारायणकाजी, गिरिराजमणि र लीलामणिजीहरूलाई प्रचण्डको चुनौती र गीता र चाणक्यको एउटा प्रसङ्ग

२० फाल्गुन २०७८, शुक्रबार ०५:००

केशवप्रसाद भट्टराई ।
१. आफ्नो पार्टी छोडेर अर्को पार्टीमा जाने, पार्टी विलय गर्नेहरूलाई नेपाली जनताले स्वीकार र सम्मान गरेको देखिन्न । जुन पार्टीमा गइन्छ, मिलिन्छ त्यहाँ पनि एक किसिमको पराईको व्यवहार सधैँ हुन्छ । ठूलो पार्टीमा जाँदा त झन् हुन्छ । आफू सरहका साना सानाको आपसी सहमतिबाट बन्ने नयां पार्टीमा अर्को कुरा होला ।

२. अर्को कुरा, पार्टीमा मानिसहरूको लामो भावनात्मक लगाव हुन्छ । नेपालमा लामो समयदेखि संगै आन्दोलनमा लागेका, जेलनेल भोगेका, दुःख कस्ट पाएका मानिसहरूवीच जे जस्तो भावनात्मक लगाव हुन्छ अर्को पार्टीमा जाँदा त्यस्तो लगाव हुन्न, भावनात्मक निकटता पनि हुन्न । स्वार्थले जोडेको सम्बन्ध मात्रै हुन्छ त्यहाँ । बन्दुक बोकेर आज कि भोली भनेर जतिखेर पनि ज्यान जाने जोखिमका वीच माओवादी युद्ध लडेकाहरू, आफ्नो साथीको रक्षामा आफूलाई बलिदान गरेकाहरू र आफ्नै आँखा अगाडि आफ्ना साथी , पति पत्नी प्रेमी –प्रेमिका मारिएको देख्ने भोग्ने समूहमा त्यस्तो कुनै अनुभव नभएका मानिसहरूवीचको एकता स्वाभाविक हुँदै हुन्न । त्यहाँ स्वार्थ मात्रै हुने हो । यो कुरा मूल माओवादी र एकता केन्द्रमा हुने नै भयो ।

. कुरा गर्नुहुन्छ –सबै माले थिए । वामदेवले महाकालीको नाउमा पार्टी फोरे । फेरि मिले तर त्यो दुई चार वर्षको भिन्न पार्टीको अस्तित्वले आज पनि एमालेमा एउटा रेखा निर्माण गरेकै छ ।

४. यही कुरा गीतामा भगवान कृष्णले भन्नु भएको हो– “ श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् । स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः।।“ अर्थात् आफ्नो धर्म भन्दा अर्कोको धर्म राम्रो होला, श्रेष्ठ होला, राम्रो अभ्यास पनि होला त्यहाँ, तर पनि आफ्नै धर्ममा रहनु, अर्काको धर्ममा न लाग्नु, त्यहाँ के हुन्छ के हुन्न थाहा हुन्न । त्यसकारण त्यहाँ भय रहन्छ , डर र त्रासको अवस्था रहन्छ ।
त्यस्तै कुरा चाणक्य ले कतै भनेका छन्–
यः स्वपक्षं परित्यज्य
परपक्षं निषेवते।
स स्वपक्षे परिक्षीणे
पश्चात् तैरेव हन्यते।।
अर्थात् जो आफ्नो पक्षलाई छोडेर,
आफ्नो मान्यता र विश्वासलाई छोडेर अर्को पक्षसँग मिल्न जान्छ ,अर्को मान्यता र विश्वास ग्रहण गर्दछ, त्यो आफू कमजोर भएका वेलामा अर्को पक्षबाट मारिन्छ वा नासिन्छ ।

५. अब न एकता केन्द्र ब्युताउनु न अपमान र तिरस्कार बेहोरेर माओवादीमा रहिरहनु । वैद्य बिप्लवकोमा पनि त्यस्तै होला । बरू ऋषि कट्टेल, नारायणमान, चित्र बहादुरहरू ??? थाहा छैन !