+

राजावादी र एमालेसित चुनावी तालमेल गर्दैनौंः मोहनविक्रम सिंह

११ चैत्र २०७८, शुक्रबार ०४:१८

मोहनविक्रम सिंह ।

युक्रेनमा भइरहेको रुसी आक्रमणलाई ने.क.पा.(मसाल)ले गम्भीर रूपमा लिन्छ र त्यसको भ्रत्र्सना गर्दछ । अहिले युक्रेनमा भइरहेको युद्ध दुई साम्राज्यवादी देशहरू, अमेरिका र रसियाका बीचमा साम्राज्यवादी स्वार्थका लागि अन्तरविरोध र युक्रेनलाई नाटोमा लैजाने प्रयत्नका कारणले नै उत्पन्न भएको हो । त्यसकारण हाम्रो पार्टीले युक्रेनमा भइरहेको युद्धको स्थितिका लागि अमेरिकी साम्राज्यवाद र नाटोलाई पनि जिम्मेवार ठान्दछ । तैपनि अहिले प्रत्यक्ष रूपले युक्रेनमाथि हमला रूसले नै गरिरहेको छ । त्यो हमलाका कारणले ठूलो सङ्ख्यामा युक्रेनका जनता, महिला र बालबालिकाहरू सम्मको हत्या भइरहेको छ । अस्पतालहरू समेत नष्ट भइरहेका छन् । लाखौँका सङ्ख्यामा मानिसहरू युक्रेनबाट भागेर बाहिर जान बाध्य भएका छन् । रूसले युक्रेनमा परमाणु हतियार पनि प्रयोग हुन सक्ने प्रकारका विचारहरू पनि प्रकट गरेकोले स्थितिको अरू ठुलो गम्भीरतालाई बताउँछ । त्यो अत्यन्त भयानक स्थिति हो । त्यसकारण हाम्रो पार्टीले अमेरिकी साम्राज्यवादको युक्रेनलाई नाटोमा लैजाने प्रयत्नको अन्त्य तथा रुसी सेनालाई युक्रेनबाट फिर्ता लगेर त्यहाँ शान्ति स्थापनाको लागि जोड दिन्छ ।

चीनका विदेशमन्त्री नेपालको भ्रमणमा आउँदै छन् । उनको भ्रमणको उद्देश्य जे भएपनि, नेपाल र चीनको मैत्रीपूर्ण सम्बन्धलाई हाम्रो पार्टीले गम्भीर अर्थ र महत्व दिन्छ । चीन एउटा साम्राज्यवादी देश हो त्यसरी त्यसका नेपालप्रतिका नीतिहरू पनि साम्राज्यवादी उद्देश्यहरुद्वारा नै निर्देशित हुने कुरा प्रष्ट छ । तर त्यो कुरा जे भएपनि नेपालको विशिष्ट प्रकारको भू–राजनीतिक स्थितिमाथि विचार गर्दा चीनसितको मैत्रीपूर्ण सम्बन्धले नेपालका लागि सकारात्मक महत्व राख्दछ भन्ने हाम्रो पार्टीको निष्कर्ष रहेको छ । खास गरेर भारत र अमेरिकाका नेपालमा भइरहेका हस्तक्षेपका विरुद्ध नियन्त्रण र सन्तुलनका लागि चीनसितको मैत्रीपूर्ण सम्बन्धले हाम्रा लागि विशेष महत्व राख्ने कुरा प्रष्ट छ । तर भारतीय र अमेरिकी साम्राज्यवादी देशहरूले चीनसितको हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई कमजोर पार्नको लागि पूरै प्रयत्न गरिरहेका छन् । उनीहरूका त्यस प्रकारका नीतिहरूको उद्देश्य नेपालप्रतिका आफ्ना साम्राज्यवादी स्वार्थहरू पूरा गर्नु नै हो । त्यस प्रकारको पृष्ठभूमिमा हामीले भारत र अमेरिकाका त्यस प्रकारका नीतिहरूको विरोध गर्दै चीनसितको मैत्रीपूर्ण सम्बन्धलाई विस्तार गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिन्छौँ । गतकालमा नेपाल र चीनका बीचमा कैयौँ सन्धिहरू भएका छन् । ती सन्धिहरूलाई पनि शीघ्र कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँँ । हामीले आशा गर्दछौँ, चीनका विदेशमन्त्रीको नेपाल भ्रमणको सिलसिलामा त्यसबारे आवश्यक निर्णय गरिनेछ ।

नेपालमा आगामी सालको बैशाख ३० गते स्थानीय चुनाव हुने ठेगानभएको छ । हाम्रो पार्टीले त्यसमा भाग लिने निर्णय गरेको छ र त्यसका लागि व्यापक रूपले तयारी गरिरहेको छ । त्यो चुनावका बेलामा राजावादी र एमालेसित चुनावी तालमेल नगर्ने हाम्रो पार्टीले निर्णय गरेको छ । एमसीसी सम्बन्धी सरकारको निर्णयको कारणले हाम्रो पार्टीले पाँच दलीय गठबन्धनबाट अलग हुने निर्णय गरेको छ । तैपनि अहिले देशमा ओलीको नेतृत्वको प्रतिगमनको खतरा गम्भीर भएको महशुस गर्दै त्यसका विरुद्ध प्रतिगमनका विरुद्ध उभिएका शक्तिहरूको बीचको एकता अहिले पनि आवश्यक छ भन्ने हाम्रो पार्टीको निष्कर्ष छ ।

त्यसैले हाम्रो पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने तथा गठबन्धन पक्षधर शक्तिहरूसित चुनावी तालमेल गर्ने नीति कायम राखेको छ । हाम्रो यो मत छ कि अहिले सरकारले दिएको समर्थनलाई फिर्ता लिँदा वा गठबन्धन पक्षधर शक्तिहरूसित चुनावी तालमेलको नीतिलाई अस्वीकार गर्दा ओलीको प्रतिगमनलाई पनि मदत पुग्नेछ । त्यस्तो हुन नदिन हाम्रो पार्टीले एमसीसी र सरकारका अन्य गलत नीति र क्रियाकलापहरूका विरुद्ध सङ्घर्ष कायम राख्दै वर्तमान सरकारलाई समर्थन गरिरहने र सम्भव भएसम्म उनीहरूसित चुनावी तालमेल पनि गर्ने निर्णय गरेको छ ।

तर गठबन्धन पक्षधर विभिन्न राजनीतिक शक्तिहरूले आज देशमा देखा परेको प्रतिगमनको खतराप्रति दूरदर्शितापूर्वक विचार गर्न सकिरहेका छैनन । त्यसैले उनीहरूमा प्रतिगमनको विरुद्धको सङ्घर्षमा तालमेल गरेर जाने सोचाइबारे कतिपय कमीहरू देखा पर्ने गरेका छन् । त्यसले गर्दा हाम्रो पार्टीले गठबन्धन पक्षधर शक्तिहरूसित सम्भव भएसम्म चुनावी तालमेलको नीति कायम राख्दै त्यो सम्भव नभएमा एक्लै पनि चुनावमा जाने नीति अपनाउने छ र त्यसका लागि तयारी समेत गरिरहेको छ । हामीले संसदीय वा त्यस अन्तर्गत हुने कुनै पनि चुनावमाथि सैद्धान्तिक र रणनीतिक रुपले विश्वास गर्दैनौँ । त्यसैले हाम्रो जोड वर्तमान व्यवस्थाको भण्डाफोरमा नै बढी हुन्छ । तैपनि अहिले देशको राजनीतिक स्थितिमा जनसङ्घर्षको एउटा माध्यमको रूपमा तात्कालिक रूपमा हामीले चुनावको उपयोग गर्ने नीति अपनाएका छौँ । हामीलाई विश्वास छ चुनावको उपयोगको नीतिद्वारा हामीले कतिपय पालिका वा वडाहरूमा विजय प्राप्त गर्न वा कडा प्रतिपर्धा गर्न सफल हुनुका साथै जनतामा व्यापक चेतना उठाउन र जनआधार तयार पार्न पनि मदत पुग्नेछ भन्ने हामीलाई विश्वास छ ।

महामन्त्री, नेपाल कम्युनिस्ट पार्टी(मसाल)