+

फोहरमा हालेर शहर कुहाउने कसरी ? सिकेर आउनू !

२० जेष्ठ २०७९, शुक्रबार ०३:५९

हात नहाली लोकलाई रुवाउने कसरी ? सिकेर आउनू
फोहरमा हालेर शहर कुहाउने कसरी ?सिकेर आउनू

आफूले खान जानेर मात्रै पुग्दैन महोदय राजनीतिमा
खोसेर आफन्तलाई खुवाउने कसरी ? सिकेर आउनू

खानेकुरो देखेपछि देखिने गरी नै चुहिन्छ र्याल पनि,
नदेखिने गरी र्याल चुहाउने कसरी ? सिकेर आउनू

बनाएरै त उद्घाटन जसले पनि गर्छ अरे दुनियाँमा
नबनाएरै उद्घाटन गरी आउने कसरी ? सिकेर आउनू

बजेट निकसा भएको छ रुख रोप्न सिमेन्टीको
चौतारीको पिपल ढलाउने कसरी ? सिकेर आउनू

नजितेकै जसरी हल्लाउनु थियो भने जितेको किन ? !
चुनाउ जितेपछिको जीऊ हल्लाउने कसरी ? सिकेर आउनू !!

अर्जुन पराजुली