+

एमालेको प्रश्न : सुनसरीमा गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्री थुनामा बस्ने कि नबस्ने ?

१४ श्रावण २०८३, बिहीबार १२:००

काठमाडौँ । नेकपा एमालेले काठमाडौँमा गोली चल्दा तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र थुनामा बस्नुपर्ने हो भने सुनसरीमा गोली चल्दा अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने र थुनामा बस्नुपर्छ कि पर्दैन ? भनेर प्रश्न गरेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले संसदीय दलका उपनेता पद्माकुमारी अर्यालले साउन १० गते गोली चलेको घटनासँग जोड्दै यस्तो बताएकी हुन् । साथै उनले सुनसरी घटना राज्यको असफलता भएको टिप्पणी गरिन् ।

‘दङ्गा नियन्त्रण दमनले होइन, संवाद र विश्वासबाट हुनुपर्छ’, अर्यालले भनिन्, ‘शान्ति सुरक्षा कायम गर्न राज्य असफल भएको छ ।’ उनले संवाद र विश्वासको सट्टा राज्य आफैले त्रास सिर्जना गरेको भन्दै आवेग उत्तेजना होइन, संयम अपनाएर शान्ति र सद्भावमा जुट्न आह्वान गरिन् ।

‘काठमाडौँमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने र थुनामा बस्नुपर्ने तर अहिले सुनसरीमा गोली चल्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले थुनामा बस्नुपर्छ कि पर्दैन ? यो हाम्रो प्रश्न हो’, अर्यालले भनिन्, ‘यसमा नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’

उनले मुलुकमा सङ्कट पर्दा प्रधानमन्त्री र सरकार कहाँ छ भन्ने प्रश्न गर्दै सङ्कटका बेला जनतासँग सरकारले संवाद गर्नुपर्ने बताइन् । उनले सरकारसँग सहकार्य र हातेमालो गर्दै सद्भाव कायम गराउन एमाले तयार रहेको भन्दै विगतमा यो भन्दा ठुला घटना टीकापुर, गौर, वीरगन्जलगायतका ठाउँमा ठुला घटना हुँदा एउटै सूत्रले एकताबद्ध गर्न सकेको स्मरण गरिन् ।