+

मार्बर्ग भाइरस कति घातक ?

४ श्रावण २०७९, बुधबार ०३:४०

घानामा मार्बर्ग भाइरसको सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ र ९८ जनालाई क्वारन्टीनमा राखिएको छ । यो अतिसङ्क्रामक रोग लागेका बिरामीमा ज्वरो आउने, मांसपेशी दुख्ने अनि पखाला र बान्ता हुने जस्ता लक्षण देखा पर्छन् । अहिले रोग अझ फैलिन्छ कि भन्ने डर बढेको छ ।
के हो मार्बर्ग भाइरस ?
मार्बर्ग भाइरस घातक इबोला भाइरसकै वर्गमा पर्छ । सन् १९६७ मा जर्मनीको मार्बर्ग र फ्राङ्कफर्ट अनि सर्बियाको बेल्ग्रेडमा एकैपटक ३१ जनामा मार्बर्ग भाइरसको सङ्क्रमण देखिएको र सात जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको भनाइ छ । युगान्डाबाट ल्याइएको अफ्रिकी बाँदरबाट त्यतिबेला सङ्क्रमण फैलिएको पत्ता लागेको थियो। तर यो भाइरस अन्य जनावरबाट पनि सर्ने प्रमाणित भइसकेको छ । अनि मानिसहरूमा यो भाइरस चमेरा भएको गुफा वा खानीमा लामो समय बिताउने मानिसहरूबाट सर्ने देखिएको छ ।

अहिले घानामा यो रोग पहिलो पटक देखिएको हो। यो अफ्रिकी देश कङ्गो, केन्या, दक्षिण अफ्रिका, युगान्डा, जिम्बाब्वेमा देखा परिसकेको छ । एङ्गोलामा सन् २००५ मा यो रोग फैलिँदा ३२९ जनाको मृत्यु भएको थियो । यद्यपि युरोपमा विगत ४० वर्षमा एक जनाको मात्रै मृत्यु भएको छ। त्यस्तै एक अमेरिकी नागरिकको युगान्डाका गुफाहरूको भ्रमणबाट फर्किएपछि मृत्यु भएको थियो । मार्बर्ग भाइरसको सङ्क्रमण भएपछि अचानक ज्वरो आउने, कडा टाउको दुखाइ, मांसपेशी दुखाइ र त्यसको तीन दिनपछि पातलो पखाला लाग्ने, पेट दुख्ने, रिँगटा लाग्ने र वान्ता हुने गर्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार केही दिनपछि सङ्क्रमित व्यक्तिमा आँखा गढेको, अनुहार फुस्रो भएको र अत्यधिक अल्छीपन देखिन्छ । धेरै मानिसहरू शरीरको विभिन्न भागबाट रगत बग्ने हुन्छ र सङ्क्रमण भएको आठदेखि नौ दिनमा अत्यधिक रक्तश्रावका कारण बिरामीको मृत्यु हुन सक्छ ।

औसतमा सङ्क्रमितमध्ये आधाजतिको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ। तर यो भाइरसका खतरनाक प्रकारहरूले ८८ प्रतिशत सङ्क्रमितको ज्यान लिन सक्छन् । इजिप्शन रूजेट फ्रूट ब्याट भनिने एक जातको चमेरोमा यो भाइरस धेरै देखिन्छ । अफ्रिकन ग्रीन मङ्की भनिने बाँदर र सुँगुर पनि यो भाइरसका वाहक बन्न सक्छन् । मानिसहरूमा भने यो भाइरस शरीरबाट निस्किने तरल पदार्थ वा ओछ्यानबाट सर्छ । अनि निको भइसकेका व्यक्तिहरूको रगत वा वीर्यबाट महिनौँ पछिसम्म यो भाइरस सर्न सक्छ ।

यसको निश्चित उपचार वा खोप छैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विभिन्न औषधि र उपचारविधि विकासका क्रममा छन् । चिकित्सकहरूले बिरामीलाई धेरै झोल पदार्थ सेवन गराएर र रगत दिएर यसका लक्षणहरू कम गर्न सक्छन् । अफ्रिकाका मानिसहरूले जङ्गली जनावरका मासु खान वा त्यसको सम्पर्कमा आउने कार्य छोड्नुपर्ने गाभीले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सङ्क्रमण फैलिएका स्थानमा सुँगुरसँग पनि सम्पर्कमा आउनु नहुने बताएको छ । यो भाइरस सङ्क्रमित भएर निको भएका व्यक्तिहरूले एक वर्षसम्म वा वीर्य परीक्षणमा दुई पटक नेगटिभ नआएसम्म यौन सम्पर्क गर्दा कन्डमको प्रयोग गर्नुपर्ने बताइएको छ ।
बीबीसीबाट ।