चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार मतदान हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्दसत्र सफलतापूर्वक सम्पन्न भएलगत्तै निर्वाचनको औपचारिक प्रक्रिया अगाडि बढ्नेछ।
आज दिउँसो २:०० बजेदेखि सुरु हुने बन्दसत्र साँझ ६:४५ बजे समापन हुने कार्यतालिका रहेको छ। नयाँ नेतृत्व चयनका लागि हुने मतदान प्रक्रियालाई छिटो र पारदर्शी बनाउन विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन) को प्रयोग गरिने निर्वाचन आयोगले जनाएको छ।
यस पटकको महाधिवेशनमा भौतिक रूपमा प्रत्यक्ष सहभागी हुन नसकेका प्रवासमा रहेका प्रतिनिधिहरूका लागि समेत मतदानको विशेष व्यवस्था मिलाइएको छ।
प्रवासका प्रतिनिधिहरूले रास्वपाको आफ्नै आधिकारिक ‘एप’ मार्फत संसारको जुनसुकै कुनाबाट पनि मतदान गर्न सक्नेछन्। चितवनको महाधिवेशन स्थलमा मतदानका लागि कुल असी वटा विद्युतीय उपकरणहरू जडान गरी तयारी अवस्थामा राखिएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख केसीले दिएको जानकारी अनुसार यस निर्वाचनमार्फत पार्टीको एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यहरू चयन गरिनेछ।
निर्वाचनलाई थप व्यवस्थित र मर्यादित बनाउनका लागि आयोगले विशेष नियम समेत बनाएको छ, जसअन्तर्गत कुनै पनि उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको व्यक्ति आफैँ सोही पद वा अन्य पदमा उम्मेदवार बन्न पाउने छैनन्।


