+

विश्व स्तनपान दिवसमा जोन्टा क्लव अफ पोखराको सप्ताहव्यापी कार्यक्रम

२१ श्रावण २०७९, शनिबार १९:१३

पोखरा । जोन्टा क्लव अफ पोखराले विश्व स्तनपान दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम गर्दै सप्ताहव्यापी अभियान सम्पन्न गरेको छ । अभियानको अन्तिम दिन शुक्रबार पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा स्तनपान सम्बन्धी शिक्षा र समर्थन कार्यक्रम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठान निर्देशक डा. भरत खत्रीले स्तनपान सप्ताह विश्वकै लागि महत्वपुर्ण सप्ताह रहेको बताए । सबैलाई स्तनपानको बारेमा चेतना दिनुपर्ने आवश्यक रहेको उनले बताए । खत्रीले क्लवले अस्पतालमा कार्यक्रम आयोजना गरि सचेनता फैलाउन सहयोग गरेकोमा धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यसरीनै सहकार्य गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ आशिका श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका डा.तारा गुरुङ्ग, डा.डेला सिंहले आमाले नवजात शिशुलाई हेरचाह तथा रोगविरुद्ध लड्न के गर्ने भन्ने विषयमा अवगत गराएका थिए । कार्यक्रममा अस्पतालको सुत्केरी कक्षमा नवजात शिशुको जन्म दिएका आमाहरुलाई स्तनपानको महत्वबारे जानकारी गराइएको थियो ।

साथै आमाहरुलाई सुत्केरी सामग्री, सुरक्षित स्तनपान सामग्री लगायत वितरण गरिएको थियो । यसअघि क्लवले पोखराको वडा नम्बर १२ मा पनि स्तनपान सचेतना कार्यक्रम सम्पन्न गरेको थियो । सो अवसरमा वडाध्यक्ष सन्तोष बाँस्तोलाले जोन्टाले आयोजना गरेको कार्यक्रम सराहनिय भएको बताउँदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमले निरन्तता पाउनुपर्नेमा जोड दिए ।

सोही कार्यक्रमकाबीच वडा १२ मा स्थापित सुरक्षित मातृशिशु कक्षमा सुत्केरी तथा सुरक्षित स्तनपान सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा जोण्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले नवजात शिशुलाई आमाको दुध सवैभन्दा ठूलो पोषण भएको उल्लेख गरिन् ।

उनले क्लवका गतिविधिबारे अवगत गराउँदै व्यवसायिक महिलाहरुको पैरवी र सेवाको माध्यमबाट विश्वभरिका महिलाहरुको सशक्तिकरण गर्ने क्लवको उद्देश्य रहेको प्रष्ट पारिन् ।

विभिन्न स्थानमा आयोजित कार्यक्रममा आहार तथा पोषण परामर्शदाता विद्या रघुनादन कायस्थले सुत्केरी महिला र नवजात शिशुलाई दिनुपर्ने सन्तुलित भोजनका विषयमा प्रकाश पारेकी थिइन् । फिजियोथेरापिष्ट शुभा कोइरालाले गर्भवती र सुत्केरी अवस्थामा महिलाले गर्नु पर्ने व्यायामका विषयमा सहजिकरण गरेकी थिइन् । क्लवका महासचिव नेलिसा ठकुरी र आश्विन कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।