No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

खेलाडीलाई ओठमा चुम्बन गरेका स्पेनी फुटबल महासङ्घका अध्यक्षले गरे राजीनामा

0
अन्ततः स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन् ।  यही भदौ ३ गते अष्ट्रेलियाको सिड्नीमा भएको महिला विश्वकपको फाइनलमा इङ्ग्लयाण्डलाई हराएर च्याम्पियन बनेपछि स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको भिडियो सार्वजनिक भएपछि विश्वभर उनको आलोचना भएको थियो ।
चुम्बन विवादमा तानिएका अध्यक्ष रुबियालेसले आफ्नो बचाउ गर्दै सहमतिमा नै त्यसो गरिएको बताउँदै आएका थिए । उनको यो भनाइको जेनीले प्रतिवाद गर्दै आएकी थिइन् । महिला विश्वकपमा स्पेनले इङ्गल्याण्डलाई १–० गोलले पराजित गरेको थियो ।
रुबियालेसको अनुशासनहीन कार्यबाट रुष्ट भएको विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले उनलाई ९० दिनका लागि निलम्बन गरेको थियो । फिफाको अनुशासन समितिले छानबिन पनि थालेको थियो । स्पेनी फुटबल महासङ्घका साथै अन्य क्षेत्रीय फुटबल निकायका नेताहरूले पनि उनको राजीनामा मागेका थिए ।
स्पेनका फुटबलसम्बद्ध अधिकारीहरूले चुम्बन काण्डले देशको प्रतिष्ठा विश्वभर बिग्रिएको बताउँदै राजीनामाको विकल्प नरहेको बताएका थिए भने महिला खेलाडीले उनी पदमुक्त नभएसम्म मैदानमा नउत्रने घोषणा गरेका थिए ।
प्रकाशित: २६ भाद्र २०८०, मंगलवार ०२:३८

Leave a Reply