+

राप्रपामा लागेर राजनीति गर्छु भन्नेरुले बुझ्नु पर्छ यसको इतिहास

८ श्रावण २०८०, सोमबार ०५:०२

जनकराज पाठक ।
२०४६को परिवर्तन पछि मुलुक र माटोलाई माया गर्ने राष्ट्रवादीरुको अगुवाइमा राष्ट्रियता प्रति इमानदार, प्रजातन्त्रप्रति प्रतिबद्ध, उदार आर्थिक चिन्तन बोकेको एक राजनैतिक दलको आवश्यकता महसुस गरि पञ्चायती व्यवस्थालाई सफल नेतृत्व दिएका दुई पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा राप्रपा(थापा)राप्रपा(चन्द)नामको दुई छुट्टाछुट्टै दल स्थापना भए । एउटै राजनीतिक दल स्थापना गर्ने सहमति भएपनि विविध कारणले दुई दल स्थापना हुन पुग्यो ।

०४८ को आमचुनावमा राप्रपा(चन्द)बाट ३ जना डा.प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जवरा र रामकृष्ण आचार्य निर्वाचित भएभने राप्रपा(थापा) वाट अकवरबहादुर सिंह निर्वाचित भएका थिए । ०४८ को निर्वाचन पछि मध्यमार्गी राजनैतिक दलको रुपमा स्थापित राप्रपा दुई वटा हुनु हुँदैन भनेर एकीकरण गरियो र यसले ०५१ को मध्यावधि चुनावमा १९ सिट जित्न सफल भयो।

नियतिको खेल भनु वा के भनु नेपालको राजनीतिमा सबैभन्दा बढी पटक फुट्ने र जोडिने दल राप्रपा बन्यो । त्यसयता राप्रपा निरन्तर सत्ता र शक्तिमा पनि छ । सत्ता राप्रपाको लागि प्राण प्यारो छ यो अर्को नियति हो । त्यसयता आजको दिनसम्म आइपुग्दा राप्रपालाई नजिकबाट नियाल्नेहरुलाई यसको वारेमा सायद बताउन नपर्ला । अझ पनि राप्रपा नबुझेका, नजानेका कोही भए बुझौं, जानौं । २०४७ जेठ १५ देखि यसको बारेमा पढौं । हाम्रा मूर्धन्य नेताहरुले यो पार्टी कुनै सनक र लहडमा खोलेका थिएन । ०४६ को परिवर्तनकारीहरुको विभिन्न स्थानमा विभिन्न समयमा भएका कुटपिटबााट वालवाल बचेका नेताहरुले यो पार्टीको स्पस्ट गन्तव्य समेत तय गरेका थिए ।

आफ्नो प्राण हत्केलामा राखेर तत्कालीन नेताहरुले स्थापना गरेको यो पार्टीको दुई संस्थापक अध्यक्ष मध्येका एक सूर्यबहादुर थापाको देहावसान भइसकेको छ । उहाँलाई पार्टीले सम्झनु पर्ने हो तर खै किन हो सम्झदैन थाहा छैन । अर्का संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्द ज्यूसँग आज भेट्ने अवसर जुटेको थियो । राप्रपालाई नेपाली राजनीतिको केन्द्रविन्दुमा कसरी स्थापित गराएन सकिन्छ भन्ने उहाँमा गम्भीर चिन्ता रहेछ । स्वास्थ्यले पूर्णरुपमा साथ नदिए पनि राप्रपालाई उज्यालो राप्रपा बनाउन उहाँ पूर्णरुपमा सक्रिय रहेको पाएँ । टेलिफोन संवाद, भेटघाटमा उहाँ पहिलाको जस्तै सक्रिय पाएँ । लोकेन्द्रबहादुर चन्द ४ पटक प्रधानमन्त्री भइसक्नु भएको छ । नेपाली राजनीतिमा उहाँ सालिन तथा भद्र नेताको रुपमा चिनिनु हुन्छ । उहाँ निश्कलंक हुनुहुन्छ । नेपाली सहित्यमा समेत उहाले ठूलो गुन लगाउनु भएको छ । उहाँको विसर्जन कथा संग्रह नामक(ग्रन्थले ) मदन पुरस्कार समेत जितेको थियो ।

राप्रपामा लागेर राजनीति गर्छु भन्नेरुले बुझ्नु पर्छ, जान्नुपर्छ, चिन्नुपर्छ यसको इतिहास । हुन त आज राप्रपाको स्कुलमा यसको पढाइ हुँदैन । यहाँ त नेतृत्वले नै नयाँ र पुरानो भन्ने गम्भीर खाडलको श्रृजना गरिदिएको छ । जसको कारण पुरानोले नयाँलाई पत्याउँदैनन् र नयाँले पुरानालाई मान्दैनन् । आजको जस्तो अर्काको सहारामा नेता बन्ने समय थिएन । त्यो तै पनि राप्रपा स्थापित भयो र आजको अवस्थामा आइपुगेको छ । हिजो उहाँहरुको सोच, चिन्तन र कल्पना नभएको भए आज राप्रपाका नाउँमा सयौंको संख्यामा सायद नेता तथा मन्त्री, उपप्रधानमन्त्री हुँदैन थिए होलान् । जेहोस् राप्रपा संस्थापक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दज्यूसँगको भेट अविस्मरणीय रह्यो ।