डा. गोविन्दशरण उपाध्याय ।
‘आमा, मैले आज सपनामा बोलेर बुझाउन नसकिने अचम्मको अवस्था देखें । त्यहाँ म, तपाईं, हाम्रो घर, छिमेकी, आगो, पानी, आकाश, हावा केही पनि थिएन । केही त थियो तर त्यहाँ बुझ्ने र बुझाउने, देख्ने र देखाउने, सुन्ने र उनाउने केही थिएन । मलाई लाग्यो म पनि थिइन । यस्तो अचम्म के होला ? १० वर्षीय बालिकाले बिहानै उठेर आफ्नी आमासँग सोधिन् ।
छोरीको प्रश्न सुनेर आमाको अनुहारमा उज्यालो छायो । कमलाको टाउको सुम्सुम्याउँदै आमाले भन्नुभयो “छोरी, तिमी ब्रह्माण्ड (यो विश्व–संसार) बन्नु भन्दा पहिलेको अवस्थामा पुगेछौँ । यस्तो अवस्थामा सबै पुग्नै सक्दैनन् । मैले तिम्रो हजुरबाबाट वेदका केही मन्त्रहरू पढेकी थिएँ । ती मन्त्रहरूमा यो संसार बन्नुभन्दा पहिले हामी, तिमी, आकाश, पातला, मृत्यु, रोग, काल, प्रकाश केही थिएन, त्यहाँ केही थियो तर के थियो भनेर जान्ने बुझ्ने कोही थिएन“ भनेर लेखिएको छ ।
‘आमा, केही नहुने पनि भन्ने हुन्छ र ? त्यसबखत पनि केही होला नि ? कमलाले आमासँग फेरि सोधिन् । ‘हो, नानी त्यहाँ धेरै थोक थिए तर तिमी, मजस्ता मान्छे त्यहाँ थिएनन् । त्यो कुरा देख्नका लागि सुन्नका लागि भन्नका लागि केही थिएन । त्यसैले सबैथोक थियो तर जान्ने÷बुझ्ने र देख्ने कोही नभएकोले केही थिएन । सबैतिर एकैनाश थियो । केही पनि हिडिरहेको थिएन । सबैतिर अस्तितत्व र नास्तितत्वको विस्तार थियो । अनि, एउटा कहिल्यै पनि नमसिने ‘सत्य’ प्रकट भयो । त्यो तत्व लाई हामी मान्छेले ब्रह्म, परमात्मा ईश्वर भन्छौं, तर त्यो त्यही थियो भन्न सकिन्न । किनभने त्यसवेला “त्यो“ बाहेक केही थिएन र त्यो अविनाशीतत्व थियो ।’
‘आमाको उत्तर सुनेर कमला अल्मलिइन् । आमाले भनेको कुरा त सुनिन् तर भनेको अर्थचाहिं बुझिनन् । ‘आमा, कुरा सुनेर पनि नबुझिने कस्तो अचम्म ? अनि, ब्रह्न भनेको त हामीले मन्दिरमा पूजाआजा गर्ने राधाकृष्ण होइनन् ? हजुरवा, बा सधैं यही भन्नु हुन्छ ?’हो, राधाकृष्ण पनि हुन् तर सत्यको बास्तविक स्वरूप जान्नेले मात्र जानेको छ, हामीले त केवल अनुसरण गरिरहेका छौँ । त्यसपछि क्रमशः सम्पूर्ण ब्रह्माण्ड, बन्यो, अनि धेरै प्राणिहरू बने, अनि, धेरै पछि तिमी÷हामी बन्यौं । कसैले असत्यबाट विश्व बन्यो भन्छन् कसैले सत्यबाट ! कुन् सत्य हो यस विषयमा आज पनि वहस चलिरहेका छन् । –आमाले भन्नुभयो ।
‘त्यसो भए हामी कसरी भयौं त आमा – कमलाले फेरि अचम्म मानेर आमासँग सोधिन् ।’ओहो, कस्तो कुरा सोध्न सकेको ? यो सृष्टि कसरी र कहाँबाट आयो, कुरा कुन मानिसले जानेको छ र बताउन सक्छ ? तिमीलाई थाहा छ, हामी सबै सृष्टिनै हौँ । त्यसैले यो सृष्टि कसरी उत्पन्न भयो भन्ने कुरा ठीकठीक कसले बुझेको होला र ? नानी साच्चिकै भन्ने हो भने यो सबै कुरा कसले बनायो होला कि तिनै बनाउने वालालाई थाहा छ, यस विषयमा अरूकसैले पनि जानेका छैनन् ।’
“कस्तो अचम्म है ? अनि, कसरी यो सबै भयो होला ? तपाईं–म, बाबा, हजुरबाबा, त्यो गाई, अनि, त्यो कटहरको रुख, ऊ त्यो बाख्रो, मलाई त यी सबै थोक देखेर दंग लाग्छ । आमा, यो संसारमा पहिलो के बन्यो होला ? कमलाको मनमा सबै थोक जान्ने इच्छा पलायो । ‘नानी, मैले सबै कुरा जानेकी छैन । तिमी मुख धोएर आउँ । म तिमीलाई र हजुवालाई गाईको तातो दुध लिएर आउँछु । अनि, तिमी र म दूवै मिलेर हजुरबाबासँग यो कुरा सोधौला है ?
‘होस्, आमा । कमला खुसीले बुर्कुसी मार्दै हजुवा भएतिर गइन् । आमाचाहिं अँगेनोमा बसालेको दुधको कुड़ेबाट दुई गिलास दुध लिएर हजुरवाको कोठामा पुग्नुभयो । कमला, हजुरबाको विस्तरामा बसिरहेकी थिइन् । ‘आमाले हजुरबालाई भूइँमा ढोग्नु भयो । हजुरवाले पनि ‘भाग्यमानी हुनु’ भने आशिर्वाद दिनुभयो र दुवै जनाले दूधको गिलास समाते । ‘यो केटी मैले पनि नबुझ्ने कुरा सोधेर हैरान पार्छे । हजुरलाई पनि हैरान पारेकी होली – आमाले कमलातिर हेर्दै ससुरालाई भन्नुभयो । ‘के कुरा गरेकी बुहारी नानी ! यो नातिनी त औधि मनकारी छे । सधैं गहकिला कुरा सोध्छे । यो बुढौलीमा नातिनातिनाले सोधेका कुराको उत्तर दिनु बाहेक हाम्रो के नै काम छ र ?– हजुरवाले भन्नुभयो ।
–क्रमशः


