+

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

१८ श्रावण २०८३, सोमबार १९:४९

काठमाडौं। तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको अभियोग लागेका परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।

कागेश्वरी मनोहरा नगरपालिकाबाट उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिइएको हाे।

१७ वर्षअघि पाँच जना तिब्बती शरणार्थीका नाममा फर्जी कागजातका आधारमा राहदानी तथा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा भट्टराईविरुद्ध राहदानी ऐन अन्तर्गतको कसुरमा मुद्दा परेको छ।

गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।

सोही अदालतको पक्राउ पुर्जीका आधारमा सीआईबीले भट्टराईलाई पक्राउ गरेको हो। नियन्त्रणमा लिइएका सहसचिव भट्टराईलाई थप कानुनी प्रक्रिया अघि बढाउन जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी भइरहेको सीआईबीले जनाएकाे छ।