+

तपाईं किन रुनु हुन्छ ?

२६ जेष्ठ २०८१, शनिबार ०३:०१

डा. गोविन्दशरण उपाध्याय ।

स्थान : सहर, समय : ३ः३०

अचानक घन्टी बज्यो । विनोदले उठेर ढोका खोल्यो । ढोकामा एकजना ३०–३५ वर्षको मान्छे उभिएको थियो । उसको हातमा एउटा पोका थियो र ढोका मै उभिएर उसले त्यो पोका हस्तान्तरण गर्ने जिद गरिरहेको थियो । एकैछिन पछि, विनोद अगाडीअगाडी र त्यो मान्छे पछाडीपछाडी आए । विनोदले बस्न आग्रह गर्यो । त्यो मान्छे सोफामा होइन, भूइँमा बस्न थाल्यो । विनोद र मेरो आग्रहपछि उ हामीसँग सोफामा बस्यो । भाउजुले चिया र खाजा लिएर आउनु भयो । लजाउँदै, असजिलो मान्दै त्यो मान्छेले खाजा खायो ।

केहीबेर भलाकुसारी भयो । उसको आँखामा वरवर आँशु बग्न थाले । मैले आफूलाई रोक्न सकिन, सोधें – तपाईं किन रुनु हुन्छ ?
‘दाजु, म ठ्याक्कै पैतीस वर्षको भएँ । सहरमा बस्ने अनेकौं ‘ठूलाबडा’को घरका कोदाला, हँसियामा धार लगाएर रातविरात पुर्याए तर कसैले पनि पानीसम्म सोधेको याद छैन । घरभित्र बोलाएर, सोफामा सँगै बसालेर ख्वावाउनु त धेरै परको कुरा हो । मैले पहिलो पटक कसैको घर र त्यसभित्र पसेर देखें । तपाईंहरूको घर एस्तो हुँदो रहेछ ! आज पहिलो पटक मजस्तो गरीव पनि मान्छेनै हुँदो रहेछ भन्ने अनुभव भयो ।
‘आजसम्म कसैले पनि मलाई पानी खान्छौं भनेर सोधेन र मैले पनि प्यास लाग्दालाग्दै पनि डर लागेर सोधिन । यो व्यक्तिको दोष होइन, सायद हाम्रो समाजले आफ्ना छोराछोरीलाई संस्कार दिएन । विनोद सर, तपाईंजस्तै सबै बदलिनु पर्छ – अमृतले आफ्नो भाव न लुकाई भने ।
मेरो, विनोद र भाउजुको आँखाबाट बलिन्द्रधारा आँशु बग्न थाले । मैले अमृतलाई अँगालो हालें । विनोदले मलाई अँगालो हाल्यो । भाउजुले विनोदलाई समात्नु भयो । केही मिनटपछि अमृत कृतार्थ हुँदै घरतिर लागे ।
–––––––––––––––––––
जबजब मैले अर्चापेका हँसिया देख्छु, अमृत तिम्रो याद आउँछ । आग्रह गर्छु, कुनै पनि काम सानो हुँदैन । सबैको शरीर हाड़छालाले बनेको हुन्छ । भोक–प्यासले धनिगरीव भन्दैन । मीठो, बोली, एक अम्खारा पानी र सम्मान पूर्वक एकैछिन विश्राम गर्ने ठाउँ सबैसँग छ । मनको द्वार खोलौं ।