+

कथा त ‘आर्टिफिशियल इन्टेलिजेन्स’ले पनि भन्छ, तपाईंले नभनेरै धेरै भन्नुभएको छ

२६ श्रावण २०८१, शनिबार ०४:४७

नारायण गाउँले ।
यही एउटा तस्बीर देखाएर समाज छुवाछूत र जातीय विभेदमुक्त बनेको दाबी गर्नु गलत हुनेछ । अझै हिँड्न बाँकी लामो बाटो छ, भरिन बाँकी धेरै घाउहरू छन् । तर मन्दिर छोएको निहुँमा गाउँबाटै लखेटिने अमानवीय अवस्थाबाट आजको यो स्वीकार्यतासम्म आइपुग्नु पनि आफैंमा ठूलो क्रान्ति हो, उपलब्धि हो । सयौं भाषण, कविता र पर्चापम्लेटले गर्न नसकेको काम यो तस्बिरले गरेको छ । यो क्रान्ति विशेष छ, किनकी यसमा घृणा होइन, हिंसा होइन, प्रेम छ, स्वीकृति छ, अङ्कमाल छ । सुन्दर भविष्यको सूर्योदय छ । हकका लागि लडिने धेरै क्रान्तिले सीमा र दुश्मनी जन्माउँछन्, यसले सीमा भत्काउने काम गरेको छ ।

सुटुक्क खिचिएको एउटा तस्बीर नभएर पशुपतिको मुटुमा शान र मानसँग खिचिएको चित्र हो यो । बन्नुपर्ने र बन्दै गरेको समाजको चित्र हो यो । त्यसैले यो खास छ । यसले आजसम्मका विभेद, बहिष्करण र अपमानहरूको क्षतिपूर्ति पक्कै गर्दैन, तर एउटा गोरेटो पक्कै कोर्छ, जसमा हातमा हात मिलाएर हामी सँगै यात्रा गर्न सक्छौं, आगामी पुस्तालाई एउटा सिङ्गो नेपाली संस्कृति दिन सक्छौं । क्रान्तिको सबैभन्दा बलियो हतियार शिक्षा हुँदो रहेछ भन्ने ’शिक्षा’ पनि यसले दिएको छ ।

धर्म पक्कै कुनै जात या व्यक्तिविशेषको ठेक्का होइन, साझा हो । धर्मको रक्षा र सुधार पनि साझा कर्तव्य हो । भाग्नु कायरता हो । आचार्यजी, तपाईंले निर्वाह गर्नुभएको कर्तव्यप्रति नमन छ । जसले यो चित्र कोर्न भूमिका खेले, तिनको कर्तव्यपरायणताप्रति पनि नमन छ । कथा त ’आर्टिफिशियल इन्टेलिजेन्स’ले पनि भन्छ, तपाईंले नभनेरै धेरै भन्नुभएको छ ।