गोकर्णप्रकाश भट्ट ।
१. हरेक कुराको समय हुन्छ । अहिलेको आवश्यकता के हो ?कुशासनविरूद्ध सिंगो पार्टी एक हुने कि अन्तरपार्टी संघर्षमा उत्रिएर जग हसाँई गर्ने ?
२. पार्टीमा फरक मत राख्न पाइन्छ, मज्जाले राखम, यो छूट कम्युनिष्ट पार्टीमा मात्र छ । नेतृत्वले गलत गरे निर्मम आलोचना गरम । तर बैठक नसकिँदै आफ्ना मत मिडियाबाजी नगरम । यता बैठक सकिएको छैन, उता सिंगो डकुमेन्ट मिडियामा । यो कुन चाहिँ जनवादी पद्दति हो ?
३. पार्टी संकटमा परेको बेला असहमति पनि थाती राखेर मूल राजनीतिक मुद्दामा एकीकृत हुनु क्रान्तिकारिता मानिन्छ । तर अहिले सरकारको कुशासनविरूद्ध देशव्यापी माहोल बनेको बेला पार्टीभित्रको अन्तरविरोधलाई सडकमा असरल्ल पारेर फाइदा कसलाइ भइरहेछ ? असहमति छ भने राखे भो त ? कम्प्युटरमा टाइप डकुमेन्ट मिडियामै दिनुपर्छ र ? यो हदसम्मको अराजकतावादी नेताले पार्टी जोगिएला र ?
४. अहिलेको आवश्यकता बाह्य अन्तरविरोधसँग खेल्ने हो, अन्तरपार्टी संघर्ष भन्दा बाह्य संघर्ष प्रधान हो । जनता हामीसँग छन्, मुद्दा हाम्रा पक्षमा छन् । आन्तरिक एकता कायम गर्ने, वाम ध्रुवीकरण तीब्रता दिने समय हो । अहिले भित्रको लडाईंमा प्रतिक्रियावादीलाई हसाउने समय होइन ।
५. र, हरेक समस्या र संकटको एक्लो कारण प्रचण्ड पनि होइनन् । आफू अनुकूल भए त्यही प्रचण्ड ठीक नत्र सबै बिगार्ने प्रचण्ड भन्ने भाष्य गलत छ । आफूतिर फर्केर हेरे कोकति चरित्रवान छ भन्ने कुरा सबैले बुझ्छन् नै । त्यसैले प्रचण्डलाई मात्र धारेहात लगाएर चोखो बन्न कसैले नखोजे हुन्छ ।


