डा. युवराज संग्रौला ।
देश प्राकृतिक प्रकोपको विनासको पीडा भोगिरहेको छ । खर्बौको क्षति भएको छ । आज पनि मानिस हिंड्डुल गर्न सक्ने अवस्था छैन । गाउँमा बालबालिका स्कुल जाने बाटो छैन । खेतबारी पहिरो र बाढीले बगाएको छ । यस्तो अवस्थामा न्यायपालिकामा नियुक्तिको रडाको छ। केही प्रश्नहरु छन् ।
१. देश मुर्छित अवस्थामा छ नेपाल बार एसोसियनको काम राष्ट्रिय नागरिक समाजको हैसियतले जनताको हितमा सामाजिक जिम्मेवारीसहित सरकारलाई दवाब दिनुपर्ने थियो । त्यसो भएन । यसको भूमिकामा प्रश्न चिन्ह लागेको छ । कानुन व्यवसायीहरुले ‘बोकेका राजनीतिक झोलाकै बोझ’ले न्यायपालिका थिचिएको छ। लोकतन्त्रको संरक्षण र विकासको न्यायिक अनुगमनद्वारा राष्ट्रको समृद्धिमा भूमिका खेल्नुपर्ने समस्त न्यायिक जगत विगत केही बर्षदेखि विवादमा छ ।
२. न्यायपालिका ‘जागिर शक्तिको’ थलो होइन । यो सेवा, त्याग र मानवीय धर्मको धरोहर हो । यस्तो संस्था राजनीतिक विवादको घेरामा पर्नुहुन्न । तर बार र न्यायपरिषद दुबैले न्यायपालिकालाई विवादमा ल्याउने काम गरेको छ र यस कर्ममा पनि ‘राजनीति गर्ने वकिल र यी वकिलको प्रयोगद्वारा न्यायपालिकालाई नियन्त्रण गर्ने दलहरुको भूमिका नै प्रवल छ।’
३. मित्रहरू, कालो लागेका हातले कपडा टकटक्याउँदा कपडा सफा हुँदैन । नेपाल बारका अध्यक्षको भनाइ सत्य होइन कि ! उहाँले पनि साधु भएर भनेको होइन कि ! उहाँको पीडा पनि आफ्ना मान्छे नपरेकै पीडा हो कि ! नेपाल बारले बोल्ने ‘व्यवसायिकता’ हो ‘राजनीतिक स्वार्थ’ होइन। उहाँमाथि अवहेलनाको सन्दर्भ पनि राजनीतिकै एक पहल मात्र हो । चोखो कोही छैन ।
३. अहिले एक प्रधानन्यायाधीशको बिदाइ र नयाँको सिफारिस भइरहेको समय नियुक्तिले विवाद त ल्याइसक्यो । यो ठिक बेठिकको कुरा रहेन । ‘एउटा बाख्रो रहेछ । घाँस अड्किएछ । परिवारका सबै चिन्ता गरेर वरिपरि बसेछन् । आफ्ना आफना चिन्ताले । कसैलाई सेकुवा खाने रहर, कसैलाई बाँचिदिए बेचेर सुट किन्ने चिन्ता, कसैला साडी किन्ने चिन्ता, कसैलाई मरिदिए घाँस काट्नु नपर्ने मजा, यस्तै यस्तै।’ जे भैरहेको छ, यो न्याय र न्यायपालिकाको चिन्ता होइन, यो आफ्नो स्वार्थको चिन्ता मात्र हो।
४. कसले के इतिहास लेख्दै छ सबैलाई थाहा छ । आफ्नो इतिहासलाई जोगाउनुहोस् । समय यस्तै रहँदैन । रोम पनि उस्तै रहेन, धननन्दको पनि पतन भयो, राणाशाही पनि लड्यो । दरबार बलियो बनाउन खोज्दा खोज्दै पञ्चायत र दरबार पनि मासियो । कुनै सत्ता चिरस्थायी छैन । तपाईं हाम्रा कारणले नै आउने हो जनबिद्रोह । बांग्लादेशमा पनि त न्यायपालिका थियो नि, तर प्रधानन्यायाधीशले भिडसमक्ष राजीनामा दिनुपर्यो । जागिर स्थायी हुन्न, केवल कमाएको इज्जत मात्र स्थायी हुन्छ। अतः
– बार अध्यक्षज्यू, एकपटक सोच्नुहोस्, तपाईंले शुद्ध मनले भनेको हो ?
– न्यायपरिषदका सदस्यज्यू, एक पटक आफ्नै आत्मलाई सोधपुछ गर्नुहोस् ‘के जे गर्दै हुनुहुन्छ त्यो विवेक सम्मत छ ?’
– प्रधानन्यायाधीशज्यू, जुन नजीर बस्ने छ त्यसले न्यायपालिकाको स्वतन्त्रता र शाख बलियो हुन्छ ?
यदि यहाँहरुलाई लाग्छ एउटा राम्रो इतिहास बन्दै छ, तब केही भन्नू छैन ।