+

ओलीको चीन भ्रमण बाध्यताको उपज हो

२३ कार्तिक २०८१, शुक्रबार ०५:०५

ऋषि कट्टेल ।
एक दुईदिन यता राजनीतिक बजारमा दुई विषयमा निकै चर्चा सुनिन्छ ।१) ओलीको चीन भ्रमण र २) ट्रम्पको विजय । आज यसै विषयमा चर्चा गरौं । पहिलो ओलीको चीन भ्रमण । यसलाई मानिसहरुले भारतले नटेरेपछि ओली चीन जान लागेको रुपमा अथ्र्याइका छन् । मोदीले निमन्त्रणा नगरेको विषयलाई लिएर कोही खुच्चिम गरिरहेका छन् । मोदीको सहयोगमा ओली सरकार ढाल्न सकिने अस्त्रको रुपमा यसलाई लिएका छन् । कोही रोइकराई गरिरहेका छन् खास गरि ओलीहरु । कसैले यसलाई नेपाल भारत सम्बन्धमा अरु दरार बढ्ने संकेतका रुपमा लिएका छन् । कसैले यसलाई ओलीको राष्ट्रवादी अडानको रुपमा विश्लेषणसमेत गरेका छन् ।

साँचो के हो त ? मोदी ओली बीचको सम्वन्ध सुमधुर छैन । विषेश गरी चुच्चे नक्सा प्रकरणदेखि बिग्रेको सम्बन्ध अहिले प्रो वेस्ट खेमामा ढल्किएपछि झनै चिसिएको छ । नक्सा प्रकरणबाट यी दुवै पछि हट्न सक्ने अवस्थामा छैनन् । यो विषय नेपाल भारत सम्बन्धमा अहिले निकै ठूलो चुनौतिको रुपमा खडा छ । अब यो देशमा जोसुकै प्रधानमन्त्री भएपनि यो विषय उसको लागि मुख्य एजेण्डा बन्नै पर्दछ । भारत भ्रमणमा जाँदा दाहालले माहोल बिग्रन्छ भन्दै अतिक्रमित भूमिबारे कुरा नगर्दा नेपाली जनमतले उनलाई भारतीय दलालको रुपमा चित्रण गरिरहेकै छ । हिजो महाकाली सन्धीमा खेलेको भूमिकाका कारण ओलीलाई नेपाली जनताले भारतीय दलालको रुपमा तिरस्कार गरेको कुरा पनि ओलीलाई थाहा नहुने कुरा भएन । ओलीको बाँच्ने साहारा अब राष्ट्रवादबाहेक अरु केही छैन । ओलीको चीन भ्रमण यही बाध्यताको उपज हो ।

जहाँसम्म ट्रम्पको विजयको चर्चा छ युद्ध सरदारको रुपमा बदनाम भएको वाइडेन र उसको दलको कालाकरतुत लुकाएर साम्राज्यवादको चरित्र नांगिन जोगाउन भएको पात्र परिवर्तन बाहेक केही हैन । युक्रेन युद्धको कारण रुस चीन, इरान जस्ता देशहरुको सम्बन्धमा आएको परिवर्तनले अमेरिकाले थेग्नै नसक्ने चुनौति खडा भएपछि नेतृत्व परिवर्तन गरेर इज्जत ढाक्न गरिएको प्रपञ्चको पार्ट हो ट्रम्प । अरु केही हैन । इजरायली विस्तारवादले प्यालेष्टिनी जनताविरुद्ध गरिरहेको नरसंहारको अपराधको निम्ति अमेरिकी साम्राज्यवाद मुख्य रुपमा जिम्मेवार छ । यसले विश्वव्यापी रुपमा युद्ध सरदार अमेरिकी साम्राज्यवादको विरुद्ध बनी रहेको जनमतलाई भ्रम दिन पनि नेतृत्व परिवर्तनको नाटक मञ्चन भएको हो । भियतनाम, अफगानिस्थानलगायतका देशहरुबाट जस्तै युक्रेनबाट भाग्न पर्ने अवस्था आएपछि लाज बचाउने टालोको रुपमा आएको हो ट्रम्प । यसले साम्राज्यवादको चरित्रमा खासै परिवर्तन आउँदैन ।