+

महोत्तरीमा स्कुल बस दुर्घटना: चालकसहित ६ जना घाइते

१९ श्रावण २०८३, मंगलवार ११:२४

जलेश्वर । महोत्तरीको गौशाला नगरपालिका-९ स्थित डुमरवाना भित्री सडक खण्डमा मंगलबार बिहान स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) पञ्चलाल गोलेका अनुसार बिहान ७:३० बजे ‘मोर्डन शारदा शिक्षा सदन बोर्डिङ स्कुल’को बा १ क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक किनारको उखुबारीमा पल्टिएको हो।

दुर्घटनामा परेर बस चालक गौशाला नगरपालिका-५ का ४० वर्षीय विजय भुजेल र गौशाला-९ का १३ वर्षीय विद्यार्थी उमर शेख घाइते भएका छन्। त्यसैगरी, गौशाला नगरपालिका-११ का १० वर्षीय प्रतीक कुशवाहा, ८ वर्षीय प्रज्ज्वल कुशवाहा, १३ वर्षीया प्रिती कुशवाहा र ६ वर्षीय आदर्श कुशवाहा पनि दुर्घटनामा घाइते भएका छन्।

घाइतेमध्ये अधिकांशको खुट्टा, नाक, कम्मर लगायतका ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेमध्ये चालक भुजेल र विद्यार्थी उमर शेखलाई थप उपचारका लागि बीके अस्पताल गौशाला पठाइएको छ भने अन्य चार जना विद्यार्थीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गोलेले जानकारी दिए।