+

प्रधानमन्त्रीले चीन भ्रमणमा भारतले गर्ने ‘नाकाबन्दी’को मुकाविला गर्नेगरी ‘कनेक्टिभिटी’मा जोड दिनुपर्छ

१४ मंसिर २०८१, शुक्रबार ०६:३०

ऋषि कट्टेल ।
अचेल केही काम अरु नभए जस्तो गरेर प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणबारे हरेक संचारमाध्यममा यसैको कुरा उठाइएको छ । ओली विरोधीहरु भारतले नडाकेपछि रोइकराइ गरेर चीन जान लागेको कुरा गरिरहेका छन् । अहिले ओलीसँग चीन भ्रमणको कुनै एजेण्डा छैन । पुष्पकमल दाहालले त चीनकार्ड खेलेको आरोप नै सार्वजनिक रुपमै लगाए । जे भने पनि ओली चीन जानेनै भए । कतिपयले ओली फर्केपछि सरकार गिर्नेसम्मको हल्ला पनि गरिरहेका छन् ।

यत्रो हल्ला चल्नु को पछाडि ओली मोदी सम्बन्धमा रहेको चिसोपनले हो । पहिला ओलीजीले चीन जानुभन्दा अगाडी भारतले नबोलाएर मात्र चीन लागेको कुराको जवाफ नेपाली जनतालाई दिनु पर्दछ । दोस्रो कुरा जबसम्म भारतले प्रबुद्ध समूहको प्रतिवेदन बुझेर नेपालको अतिक्रमित भूमिबारे वार्ताको लागि तयार हुदैन तबसम्म आफू भारत नजाने प्रतिवद्धता सार्वजनिक गर्नुपर्दछ । राष्ट्रघाती माहाकाली सन्धि गर्न भूमिका खेलेवापत भोगीरहेको आरोपबाट मुक्त हुने ओलीको जीवनकालमा यो अन्तिम अवसर पनि हो ।

भारतीय एकाधिकार पुँजीवादको हस्तक्षेपबाट मुक्त नगरी नेपालको स्वाधिन राष्ट्रिय अर्थतन्त्रको विकास हुनै सक्दैन । राष्ट्रिय अर्थतन्त्रको विकास बेगर देशको समृद्धिको कुरा हावादारी गफ मात्र हो । यसको निम्ति चीनसँगको कनेक्टिभिटी र व्यापार पारवहनको सहजताको बाटो खोल्नै पर्दछ । जसले गर्दा भारतले गर्ने कुनैपनि नाकाबन्दीको मुकाविला गर्न सकियोस् ।
हेरौं ओलीको राष्ट्रवाद नेपाली जनताले प्रष्ट बुझ्ने अवसर पाउने बेला आएको छ ।