विजयकुमार पाण्डे ।
हामीले जीवनमा भेटेका अधिकांश मान्छे, तिनीहरुसँग बिताएको समय, गरेकाका गफहरु कालान्तरमा–अर्थहीन, निस्सार र समयको बरबादी प्रमाणित हुन्छन् । आजका हेडलाइन र इतिहासका निर्णय, प्रायः कहिल्यै मेल खाँदैनन् ।
तैपनि हामी त्यही निस्सार अर्थहीन कुराहरुमा, मान्छेहरुमा, बहसहरुमा अलमलिरहेका हुन्छौं, जुन कुराहरुको निकट कालान्तरमा वा आफ्नै जीवनकालमा वा आजै भरे साँझ नै – कुनै अर्थ नै हुने छैन …
साच्चै भन्नु पर्दा जीवनको अर्थ (meaning) र अर्थहिनता (meaninglessness) व्यापक बिषय हो । प्रिय एलेन मस्कले निलो टीकाको व्यवस्था नगरेको भए, २४० क्यारेक्टरको सीमित साइज मैदानमा यस बिषयमा लेख्ने पनि थिइनँ .. लेख्न सकिने पनि थिएन ।
किनभने क्रिकेटमा तिव्र गतिका फास्ट बलरहरुलाई एक न्यूनतम लम्बाईको रन अप चाहिन्छ, जेट विमान सानो धावनमार्गबाट उड्न सक्दैन । पोखरीभन्दा ठूलो माछा हुन सक्दैन । जीवनको अर्थ वा अर्थहीनताकाबारे लेखकहरु काफ्का र कामुले व्यापक लेखेकै छन् । हाम्रै लेखिका पारिजात पनि– जीवनको अर्थहीनता, जीवनको निस्सारताबारे पोखिएकी छिन् । शिरिषको फूल– धेरैको झैं मेरो पनि प्रिय कृति त हुँदै हो । तर मान्छेका रुपमा पनि मैले पारिजातलाई भेट्ने बितिकै मन पराएँ । मोहित भएँ भन्नु बढी उपयुक्त हुनेछ ।
कस्तो सुन्दर मुहार ! कति शक्तिशाली अभिव्यक्ति ! वाह पारिजात ! मैले पारिजातलाई भेट्दा उनलाई रोगले च्यापिसकेको थियो । ओछ्यानबाट सजिलै उठ्न पनि गाह्रो भइसकेको थियो । म नेपाल टेलिभिजनको पर्दामा भरखरै पसेको थिएँ । ’शिरिषको फूल’ पढी सकेको थिएँ । सायद शिरिषको फूलको ह्याङ ओभरले होला, पहिलो नजरमा नै एक अजिब आकर्षण महसुस भयो, ओछ्यानबाट सकिनसकी उठ्दै गरेकी पारिजात देखेर !
मैले पारिजातसँग कुनै दिदीबहिनीको साइनो लगाइन । सिधै भनें– ‘ बेलैमा जन्मेको भए, म तपाईंलाई लाइन मार्ने कोशिस गर्थें ।’
सुनेर पारिजात मुस्कुराइन् । एकछिन पनि मलाई शंकर लामिछानेले शिरिषको फूलमा लेखेको भूमिका पढ्ने सल्लाह दिइन् ।
म आज पनि शिरिषका फूलहरु प्रति आसक्त छु । कतै त्यो रुख वा त्यसबाट खसेका फूल देखे पारिजात याद आउँछिन् ।
तर पारिजातसँग प्रेम हुँदाहुँदै पनि, म जीवनलाई निस्सार,अर्थहीन मान्दिन । काफ्का र अल्बर्ट क्यामुले जतिसुकै लोभलाग्दो र शक्तिशाली भाषामा जीवनको अर्थहीनता प्रमाणित गर्ने कोशिस किन नगरुन्, म त्यसमा आंशिक सहमतिमात्र जनाउन सक्छु ।
आज त मलाई पनि थाहा छ, नाङ्गो आँखाले हेर्दा– अन्तमा, जीवन निस्सार नै हो, अर्थहीन हो, खरानी हो । जब हिजो बाँकी रहेन भने, आज कसरी बाँकी रहला र ? यति त मलाई पनि थाहा छ, आज ।
यति थाहा हुँदाहुँदै पनि, म काफ्का र कामुभन्दा केही कदम अगाडी महसुस गर्न सक्छु । किनभने आज हामीसँग महान पूर्वीय सभ्यताका कयौं महान गुरुजनका दुईचार थोपा कृपा छ । ती दुई चार थोपा नै मेरो जीवनको संग्रहणीय उपलब्धि हो । बाँकी सब पेरिफेरियल टाइम पासका कुरा हुन् ।
यस्तो होइन कि म काफ्का, कामु वा पारिजातले देखाएका निस्सार, उदास गल्लीहरु, घुम्तीहरुसँग अपरिचित छु । आफैंमा अनौठो आकर्षण बोकेका ती उदास गल्लीहरु मैले पनि नचाहरेको होइन । तिनको मोहमा, आफू पनि नफसेको होइन । उदासीको पनि आफ्नै आकर्षण होइन । बियोगको पनि आफ्नै स्वाद हुन्छ । सायद, प्राप्तीको स्वादभन्दा मिठो …
तर बाटो जतिसकै लोभलाग्दो भएपनि, आधा बाटो एकसाथ हिँडेपछि मैले काफ्का, कामु र पारिजातलाई कृज्ञतापुर्वक नमन गरेर छोडीदिएँ । ‘छोडे’ भन्नु भन्दा पनि – अगाडी बढे भन्नु उचित हुनेछ ।
किनभने म निस्सारमा पनि सार देख्न थालें । अर्थहीनतामा पनि अर्थ देख्न थालें । दुनियाँमा के कुरा आफ्नो लागि अर्थहीन हो ? निस्सार हो ? भन्ने बुझ्ने बित्तिकै आफ्ना लागि के कुरा – अर्थपूर्ण हो ? के होइन ? स्वतः प्रकट हुन थाल्छ ।
अर्थहीनतालाई (meaninglessness) हटाउन सक्नुभयो भने , पन्छ्याउन सक्नुभयो भने – अर्थ (meaning) तपाईंको अगाडी स्वादिस्ट मेन्यु लिएर सेवाभावमा स्वतः प्रकट हुन्छ ।
निस्सारको एउटा भङ्गालो नछोडी अगाडि बढ्नुभयो भने ‘सार’ को सागरमा जरुर पुगिन्छ । काफ्का र अल्बर्ट क्यामुको यात्रा रोकिन्छ – ‘जीवनको कुनै अर्थ छैन, निस्सार छ यो जीवन ’ भन्ने भावमा, absurdity of life मा ..
म उनीहरुको भाव रुचाउन चाहन्छु, त्यसैमा थप्न चाहन्छु भनौ न – हो जीवनको कुनै अर्थ त छैन, अन्तमा , फाइन्नली । तर जीवनको कुनै अर्थ छ भने त्यो हामीले जीवनलाई दिने अर्थ चाहिँ अवश्य पनि छ । हामी सबै मान्छे, आआफ्नो परिस्थितिका हिसाबले, आआफ्नो जीवनलाई अर्थ दिन समर्थवान छौं । यति कमजोर पनि छैन मान्छे कि आफ्नो जीवनको अर्थ नै फेला नपारोस् । सृष्टिले हामीलाई दिएको यो सामर्थ्य नै – जीवनको सुन्दरता हो ।‘
तर हामी जुन खाले मान्छे भेट्न समय खर्च गर्छौं, जस्ता कुरा गर्छौं, जे लेख्छौं वा पढ्छौं वा जे जस्तो सुगन्ध वा दुर्गन्धको धुपवत्ति बाल्छौं, खिसीट्युरी वा आरतीमा समय बिताउँछौं– के त्यसले हाम्रो आफ्नो जीवनको गुणवेत्तालाई उकास्न मद्दत गर्छन् ? कि गर्दैनन् ? यो कुरा मुख्य हो ।
यदि हामीले जीवनमा भेटेका अधिकांश मान्छे, तिनीहरुसग बिताएको समय , गरेकाका गफहरु, अपेक्षाहरु, वाचाहरु कालान्तरमा – अर्थहीन, निस्सार र समयको बरबादी प्रमाणित हुने गरि नै डिजाइन गरिएका छन् वा अभिसप्त छन् भने त्यसकुरामा धेरै अलमल गर्नु कि नगर्नु ? यो प्रश्न महत्वपूर्ण छ ।
ओठे जवाफ त यो पनि हुन सक्छ कि– जब दुनियाँमा सबथोक नै निस्सार छ अर्थहीन छ भने, बेकारमा क्याल्कुलेट किन गर्ने– कुनमा सार छ ? कुनमा छैन ! आज बाँचौ, भोलिको कुरा भोलि नै देखौंला ..
पृष्ठभुमिमा जिमी हैन्ड्रिक्स बज्दै छन्
जब मेरो जाने दिन आउनेछ
त्यो दिन त मर्नैपर्छ
आज मेरो बाँच्ने दिन छ
मलाई , म जस्तै भएर बाच्न देउ !
पाण्डेको ट्वीटरबाट