+

सत्ताबाट सेकिएका दुर्गा

१८ मंसिर २०८१, मंगलवार १६:०९

उज्यालो नेपाल टिप्पणी ।
सत्तासँग शक्ति हुन्छ । शक्ति सधैं पूजा खोज्छ । शक्तिलाई पूजा मनपर्छ, चाहिन्छ । विरोध आलोचना पचाउन नसक्ने दीर्घ रोग हुन्छ सत्तासँग । त्यहीभएर त सत्ताले कहिल्यै सहँदैन, विरोधीलाई, आलोचकलाई । कुनै पनि व्यवस्थाका मुखियाहरु विरोधीलाई तहलगाएर आफ्नो सत्ता शक्तिको तुजुक देखाउँछन् । प्रायः सत्तामा देखिने यही चरित्र अहिले मुखरित भएको मात्र हो, मेडिकल उद्यमी तथा नागरिक अभियन्ता दुर्गा प्रसाईंको पक्राउ प्रकरणमा । देशका कार्यकारी प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको अमुक कम्पनीमा अवैध लगानी गरेको भन्ने नक्कली कागजात सार्वजनिक गरेको जुनअभियोग प्रसाईंमाथि छ, त्योबारे अनुसन्धान गर्न सरकारले उनलाई समात्न सक्थ्यो, समात्यो । यो एउटा पाटो हो ।

तर, अहिले आफ्नै हिरासतमा राखेर सिंगै राज्य प्रसाईंलाई भ्याएसम्मका झुटा अभियोगहरु लगाएर उनलाई जेलमा सडाउने तानाबाना बुन्दैछ । सिंगो राजयसत्ता एउटा नागरिक अभियन्तामाथि खनिएपछि हालत के हुन्छ ? अहिले प्रसाईं भर्सेज ओलीसत्ता भैरहेको छ ।

सत्ता बलियो छ, प्रसाईंलाई थुनेर अभियोगहरुको ढड्डा तयार गर्दैछ । यसले प्रमाणित गर्छ, नागरिक अभियन्ता प्रसाईं ओलीसत्ता बराबर नै शक्तिशाली देखिएका छन् । हैन भने एक नागरिकलाई यसरी काँग्रेस एमाले गठबन्धनको शक्तिशाली केपी ओली नेतृत्वको सरकार दुर्गा प्रसाईं सिध्याउँ भन्ने एकसूत्रिय एजेण्डामा केन्द्रित हुनै पर्दैनथ्यो ।

एकछिन मानौं, प्रसाईंले ओलीको कम्बोडियाको लगानीबारे पर्याप्त प्रमाण बिना नै आरोप लगाएछन् रे । उसो भए देशको कार्यकारी सरकार प्रमुख ओलीले कम्बोडियामा ओलीको लगानी भएको भनिएको अमुक कम्पनीबाटै ओलीको लगानी छैन भन्ने प्रमाण सार्वजनिक गराउन किन सक्दैनन् ? सरकारले त राज्यस्तरबाटै, कुटनीतिक च्यानलबाट पनि यस्ता कुराहरुको खण्डनमण्डन गराउन सक्नुपर्ने हो नि हैन र ? प्रसाईंलाई जेलमा सडाउन ओली सरकारले लगाएको ताकत ओलीको नाम जोडिएको अमुक कम्पनीबाट ओलीलाई क्लिन चिट दिलाउन लगाएको भएपो ओली सत्ताको शक्तिको तुजुक प्रमाणित हुन्थ्यो नी, हैन र ?

ओली सत्ता रहुन्जेल प्रसाईंहरु हिरासतमा गैरहनु, भ्याएसम्म जेलमा कोचिनु स्वभाविक हुनेछ । किनभने सत्ताले आलोचकहरुलाई गर्ने सहज कारबाही नै यस्तै हो । हिजो पंचायतकालमा सत्तासिन पञ्चहरुका लागि काँग्रेस, कम्युनिष्टहरु आखाँका कसिंगर भएकैले उनीहरु जेलमा कोचिन्थे । अहिले पंचायतको बदला दलतन्त्र छ, गणतन्त्रको बर्को छ, अनि दुर्गा प्रसाईंहरुको त्रास नै ओली सत्तालाई चर्को परेको छ । त्यसैले ओली सत्ता दुर्गाहरुलाई जेलकै बास गराउन उद्दत छ ।
दुर्गा प्रसाईंले ओलीलाई हजुरबा नै मानेर एमालेकै केन्द्रीय सदस्य भैदिइरहेको भए, जनयुद्धकालिन जस्तै माओवादीमा कमरेड नै बनिदिएको भए, अहिले उनीमाथि सिंगो राज्यसत्ता खनिने थिएन । दुर्गा प्रसाईंको भुलभयो, एमाले छोडिदिनु र एमालेको भण्डाफोर गरिदिने प्रयास । दुर्गा प्रसाईको कमजोरी रहयो, उनी माओवादी रहिरहेनन् ।

तर के, दुर्गा प्रसाईं वा उनी जस्तै कोही नागरिक काँग्रेस, माओवादी वा सत्ताका ताबेदार नभएकै कारणले उनीहरु सत्ताको तारो बनाईने हो त गणतन्त्र नेपालमा ? यो शैली कथित गणतान्त्रिक व्यवस्थाको विशेषता नै हो त ? सरकार र व्यवस्थाको जरो काट्छु भन्नेलाई पनि नागरिक हकअधिकार प्रयोगमा निर्वाध सघाउनुपर्ने हैन र राज्यले ? किन दुर्गा प्रसाईं सफाया अभियानमा यसरी सिंगै राजयसत्ताको दुरुपयोग भैरहको छ त ?

खासमा, दुर्गा प्रसाईं अब एक व्यक्ति मात्रै हैनन्, उनी एकआम स्वाभिमानी देशभक्त नेपाली नागरिक प्रवृत्ति हुन् । एक आमनागरिक शक्ति पनि हुन् ।दुर्गालाई जति धेरै मुद्धा लगाईन्छ, उती नै उनीसँग सत्ताले हारेको प्रमाणित हुँदै जानेछ । दुर्गााले अब गुमाउन शायद केही छैन, जित्नलाई दुर्गासँग सिंगै दुनियाँ छ ।

हिरासतमा रहेका दुर्गाकाबारेमा सत्ताका चटुकारिता गर्ने मिडियाले फैलाएको गोयवल्स शैलीका प्रचारले सत्ताका हिमायतीहरुलाई एकछिन पिसाबको न्यानो झैं गराउला । तर, सत्य सधैं सत्तामुखी एकांकी मिडिया प्रचारले मात्रै छोपिँदैन । त्यसैले प्रहरी हिरासतमा रहेका प्रसाईंकाबारेमा उनको बयान भन्दै जारी सरकार समर्थित मिडिया प्रचारबाजीको कुनै तुक छैन ।
अनेकन अभियोगमा दुर्गा प्रसाईंलाई हिरासतमा राखेर उनलाई सत्ताले भौतिक शरीरमाथि कष्ट दिन सक्छ, दिइरहेकै छ । क्यान्सर पीडित भएका कारण क्यान्सर अस्पताल चलाएर नागरिक सेवामा जुटेका दुर्गालाई सरकारले जेल हालेर भौतिक रुपमा दुःख दिने र मानसिक रुपमा कमजोर बनाउने जुन प्रपञ्च रचिरहेको छ, यो पनि सत्ता उन्मादको निभ्ने बेलाको बत्ति जस्तै कायर प्रतिशोध र पराजित सत्ताको प्रकटीकरण मात्र हो ।

दुर्गा प्रसाईं कुनै आयातित विचारका घोडा होइनन्, उनी खाँटी देशभक्त नेपाली अभियन्ता हुन् । उनले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, राजसंस्था वा हिन्दूराज्यका सन्दर्भमा जनजनका मनका विषय र विचारको एकीकृत अभिव्यक्ति दिएका हुन् । उनले सत्ताको भ्रष्ट चरित्रविरुद्ध जेहाद छेडेका हुन् । त्यसैको प्रतिशोधस्वरुप उनले अहिले हिरासतको कष्ट उठाउनु परेको हो । तर उनी जतिदिन सत्ताको कोप भाजनमा पर्छन्, उति धेरै बलिया, शक्तिशाली, लोकप्रिय र सफल हुँदै जानेछन् ।

त्यसैले अहिले सत्ताले लगाएका हजार अभियोगहरु वा हिरासतको जबरजस्त लम्ब्याइँदो बास, सत्ताको त्रास वा सत्तामुखी मिडियाको एकांकी प्रचार खेतीका बावजुद पनि दुर्गाको नागरिक अभियान घायल हुन सक्दैन । अब घर घरमा दुर्गा प्रसाईहरु जन्मिएका छन्, टोलटोल र बस्ती बस्तीमा दुर्गा प्रसाईंको अभियान अघि बढिसकेको छ । वास्तवमा नै दुर्गा अब अविवेकी सत्ताका लागि मात्र आँखाको कसिंगर हुन्, आमनागरिकका लागि भने संकटका सारथी हुन् , निमुखाहरुका नेतृत्व हुन् ।