विजयकुमार पाण्डे
वाह ! शानदार ! बधाई
What an amazing journey
पहिलो पटक उनलाई सेनेमा हलको पर्दामा शाहरुख खानसँग नाच्दै देखेको थिएँ । अनगिन्ती दर्शकझैं म पनि सम्मोहित भएँ । समयक्रममा मनिषाले एकपछि अर्को गलत फिलिम साइन गरिन् । क्यारियर र जीवन दुबै ओरालो लागे । त्यतिले नपुगेर क्यान्सर भयो । फोर्थ स्टेज क्यान्सर …. एउटा सानो अवधि भित्रै उनको चमकदार जीवन, टुक्रा टुक्रा भएर छरियो । यो सबका बाबजुद मनिषाले छरिएका टुक्राहरुलाई जसरी एक एक गर्दै समेटेर अघि बढिन् त्यो साहस र लगनशिलता मेरा नजरमा उनको बलिउड शिखर आरोहरण भन्दा बढी अर्थपूर्ण छ ।
सेनापनि जर्ज प्याटन झैं, म पनि मान्छेको सफलतालाई ऊ कति माथी पुग्यो भनेर नाप्दिन । धर्तीमा थचारिए पछि कति उठ्यो भनेर मात्र जाँच्दछु । आजको दिनमा मैले मनिषा कोइरालालाई जसरी बुझ्ने मौका पाएको छु, त्यो पनि नियती नै हो ।
केही वर्षअघि, एकदिन अनिद्राको छटपटले सताइएको बेला मैले यु ट्युब खोलें । लिंकहरुको लहरो तन्किदै गयो । र , एक यस्तो भिडियोमा पुग्यो जहाँ मनिषा कोइराला मदिराले लगभग बेहोस हालतमा मुम्बईको कुनै रिसेप्सनमा मिडियासँग कुरा गर्दै रहिछिन् । उनले बेहोसीमा बोलेका शब्द र उनको हालत देखेर मलाई दुःख लाग्यो । हुन त यो भिडियो पुरानो थियो, उनलाई क्यान्सर लाग्न अघिको भिडियो थियो क्यारे । त्यही रात, त्यसपछि मैले उनका अरु भिडियो पनि हेरें । उनको जीवन र क्यारियरको अप्ठ्यारो अँध्यारो ओरालो सकिएर फेरि शिखर यात्रा सुरु हुन थाल्ने बखतका भिडियोहरु …
एक ठाउँमा पुगेर म अघि बढ्न सकिन । दोहर्यएर हेरें । त्यो खिच्दा उनी क्यान्सर मुक्त भैसकेकी रहिछिन् ।
कसैले उनलाई सोध्दै थियो – ‘मनिषाजी, के तपाईलाई जीवनमा कुनै पछुतो छ ? त्यति धैरै सम्मान र पुरस्कार पाएकी तपाईं त्यस्तो एक दिन हालतमा पुग्नु भयो भन्ने पछुतो छ ?’ ‘कुनै पछुतो छैन । म आफ्ना असफलता र अपमानलाई पनि, त्यतिकै मायाले अंगालोमा बाँध्न चाहन्छु जति मेरा सफलता र अवार्डहरुलाई ।’
यो सुनेर मेरो मनमा मनिषाप्रति आदर र उत्सुकता बढ्यो । धैरै गहिरो कुरा गर्दै थिइन् । आफ्ना अपमानलाई पनि आफ्नो सम्मान सरह अंगालो मार्छु भन्ने भाव साधारण होइन । थप जान्ने रहर जाग्यो । मैले मित्र विकास रौनियारसँग उनको फोन नम्बर मागें ।
भाग्यवश त्यसबखत मनिषा काठमाडौंमा नै रहिछिन् । मेरी छोरी सारा पनि बिदामा घर आएकी थिइन् । हामी भेट्न गयौं । मनिषाको चेहरामा मेक अप थिएन । न उनका कुरामा । हामी एक घण्टा जति बस्यौं । पर्सी पल्ट उनी मुम्बई फर्किइन् ।
आज अचानक मलाई मनिषा फेरि यादमा आइन् । यसवर्षको फिल्म फेयर OTT Award जितेपछि ।
संजय लिला भंसाली भारतका सर्वाधिक प्रतिभावान र भव्य ( Grand ) निर्देशक मध्ये हुन् । हिरामण्डी गर्न अघि, मनिषा कोइराला ४ (चार)८ वटा फिल्म फेयर अवार्डले सम्मानित थिइन् । मनिषा र संजय लिला भंसालीले २८ वर्षअघि एकसाथ काम गरेका थिए चलचित्र – खामोशीमा, जसका लागि मनिषालाई फिल्म फेयर सर्वश्रेष्ठ नायिका अवार्ड प्राप्त भएको थियो ।
२८ वर्षपछिको सहकार्यले मनिषालाई फेरि एउटा फिल्म फेयर अवार्डले सम्मानित गरिएको छ – Best Actor -Female _ Filmfare OTT Awards हिरांमण्डीमा उनको अतुलिनिय अभिनयका लागी !
धेरै बधाई मनिषा कोइरालाजी !


