जीवा लामिछाने ।
‘एटलस’ शब्द भन्नासाथ मेरो मनले झट्ट सम्झिने नाम हो भारतमा निर्मित कुनै समयको लोकप्रिय साइकल ब्रान्ड– एटलस । जीवनमा सर्वाधिक खुसीको क्षण बाले मलाई सेकेण्ड ह्यान्ड साइकल किनिदिंदाको क्षण थियो भनेर कुनै प्रसंगमा मैले भनेको पनि थिएँ । त्यो साइकल एटलस ब्रान्ड थियो । एटलस भनेको अफ्रिकी पर्वत समूह हो भन्ने कुरा त मैले निक्कै पछि मात्रै थाहा पाएको हुँ ।
हाम्रा हिमालय र महाभारत पर्वत जस्तै एउटै पर्वत श्रृखंला नभएर एटलस पर्वत छुट्टाछुट्टै ६ वटा पर्वतहरुको समूह हो । मोरक्को, अल्जेरिया र ट्युनिसिया समेत गरि यो छ अलग–अलग पर्वत श्रृंखलाहरूमा विभाजित छः एन्टी–एटलस, मिडल एटलस, हाई एटलस, टेल एटलस, साहारा एटलस, र अरेस एटलस । एटलस पर्वत अन्तर्गत पर्ने मोरक्कोको तुबकल हिमाल (४,१६७ मिटर) उत्तर अफ्रिका र अरब वर्ल्डको सबैभन्दा अग्लो शिखर हो । एटलस पर्वतले भूमध्यसागरीय तटको मौसमलाई सहारा मरुभूमिको शुष्क जलवायुसँग अलग गर्ने काम गर्छ । एटलस पर्वत वरपरका वस्तीहरुमा बेर्बर जातिहरु बस्छन् जसले हजारौं वर्षदेखि आफ्नो संस्कृति,भाषा र परम्पराहरू जोगाइराखेका छन् ।
‘हाई एटलस’को विपरीत दिशामा रहेको सानो पर्वत श्रृखंलालाई यहॉ ‘एन्टी एटलस’ भन्दा रहेछन् । यो नाम सुनेपछि झट्ट मनमा आएको एक सिल्ली आइडिया– ‘हिमालय पर्वत शृखंलाभन्दा निक्कै होचा र विपरित दिशामा रहेको हाम्रा ‘महाभारत’ पर्वत शृखंला पनि ‘एन्टी हिमालय पर्वत’ हुन् ।’


