उज्यालो नेपाल टिप्पणी ।
काठमाडौं । नेपाल ओलम्पिक कमिटीमा जीवनराम श्रेष्ठले ५० को दशक आरम्भदेखि आजसम्म निरन्तर आवद्धता जनाए । दुई कार्यकाल गरी ८ वर्ष त उनी अध्यक्ष नै भए । तर लामो समय एकैजना राजनीतिक नेताले नेतृत्व गर्दा पनि ओलम्पिक कमिटीमा कुनै नयाँ कायापलट भने भएन । पदका लागि पद संहालेर जीवनरामले एनओसीमा दुई कार्यकाल बिताए । नेपालको खेलकुद ऐन, अन्र्तराष्ट्रिय ओलम्पिक चार्टर र खेल भावनाको मर्यादा अनुसार अब जीवनरामले एनओसीबाट ससम्मान बिदाई र बिश्राम लिने बेला हो यो ।
तर जीवनराम श्रेष्ठ अहिले एनओसीलाई आफ्नो निजी क्लब बनाउन तम्सिएका छन्, संसारलाई लज्जित पार्ने गरी । नेपालको खेलकुद ऐनको प्रावधान मिचेर, अन्तर्राष्ट्रिय ओलम्पिक चार्टर मिचेर, आम खेलाडी, खेलकर्मी र खेलप्रेमीहरुको भावनालाई कुल्चेर जीवनराम केवल एनओसी अध्यक्ष पदमा सदावहार बहाल हुन षड्यन्त्र गरिरहेका छन् ।
अहिले नयाँ चुनाव आवश्यक छ, ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि । किनभने अहिलको जीवनराम नेतृत्वको कमिटी तदर्थ कमिटी मात्र हो । काम चलाउन कमिटीले विशेष साधारणसभाको नाममा विधान संशोधन गर्न पाउँदैन, सक्दैन । विधानले नै यो कुरा अस्वीकार गर्छ । विधान विपरीतको काम गर्न खोज्ने जीवनराम शैली र हैकमको जतिनिन्दा र भत्र्सना गरे पनि पर्याप्त हुदैन ।
तै पनि जीवनरामले यस पटक विधान संशोधन गरेर आफू अध्यक्षमा पुनः तेस्रोपल्ट दोहोरिने असफल प्रयत्न गरे । भलै उनको यो षड्यन्त्रलाई नेपाली खेलकुद संघहरुका सचेत पदाधिकारीहरु, खेल नेताहरु र खासगरी एनओसीकै उपाध्यक्ष सुनिलकुमार श्रेष्ठको विशेष पहलमा जीवनरामको षड्यन्त्र विफल भएको छ । उच्च अदालत पाटनले जीवनरामले राख्न खोजेको विशेष साधारण सभा र विधान संशोधनको तयारीलाई यही मंसिर १७ को कडा आदेशमार्फत तुहाइदिएको छ । यसले तत्काललाई जीवनरामको एनओसी कब्जा गर्ने षड्यन्त्र रोकिएको छ ।
तर पनि जीवनरामले एनओसीमा गाडेको नजर र दाँत सजिलै झिक्ने संकेत छैन । उनले कानुन अवज्ञा गर्ने, विधान मिच्ने र अदालती आदेशलाई अपव्याख्या गरेर, पन्छाएर, मिचेर पुनःएनओसी अध्यक्ष पद हत्याउने अन्य षड्यन्त्र गर्ने खतरा जिवितै छ । वैधानिक रोडम्याप सकिएपछि उनले षडयन्त्र, जालझेल र तिकडमको साहारा लिँदैछन् ।
यसो हुनु भनेको नेपाल ओलम्पिक कमिटीलाई व्यक्तिको कब्जामा सीमित गर्नु हो । व्यक्तिवाद अन्तर्राष्ट्रिय ओलम्पिक चार्टरमा अस्वीकार्य छ । नेपालको खेलकुदको बृहत्तर, समावेशी र संतुलित विकासका लागि पनि यो घातक छ । अब जीवनरामले एनओसी अध्यक्ष हुने नैतिक, कानुनी र व्यवसायिक योग्यता गुमाइसकेकोले उनको विकल्पमा खेल भावले ओतप्रोत नयाँ नेतृत्व आवश्यक छ, एनओसीमा ।
२०५१ को अप्रत्याशित मध्यावधि चुनावपछि तत्कालिन संसदको स्वरुपअनुसार जसै देशले नेकपा एमालेको अल्पमतको सरकार बनायो, त्यतिबेलादेखि जीवनरामको नेपाली खेलकुदको नेतृत्वमा ईन्ट्री भएको हो । उनी एमाले कार्यकर्ताका रुपमा राखेपमा प्रवेश गरे । उनी कुनै खेलाडी भएर खेलकुदको नेतृत्वमा आएका होइनन् । त्यस यता उनले राखेप, एनओसी, स्की संघ सबैतिर आफ्नो असफल नेतृत्व क्षमता देखाइसकेका छन् । उनले आफू र आफ्नो पद जोगाउने, परिवार र आफन्तलाई विदेश घुमाउने, छोरालाई अन्र्तराष्ट्रिय स्की खेलाडीको रुपमाओलम्पिकमा पठाउने, आफू निकटलाई खेल व्यापारका लाभदिने जस्ता निजी स्वार्थकाबाहेक केही कामगर्न सकेको देशले देखेको छैन । यो खुल्लाकिताव सरह खेल मैदानभित्रबाहिर जगजाहेर ओपन सेक्रेट हो ।
मुलतःउनी दलका नेता हुन्, राजनीतिक खेलाडी हुन् । ओलम्पिक कमिटी विशुद्ध खेल संस्था हो । राजनीतिक नेताले सधैंभरी एनओसीको पद हत्याउन खोज्नु भनेको ओलम्पिक कमिटीलाई राजनीतिक नेतृत्वको क्रिडास्थल बनाउनु, ओलम्पिक मुभमेन्टलाई राजनीतिक प्रभवमा पारेर खेल भावनामाथि चोट पुर्याउनु नै हो । नेपाल ओलम्पिक कमिटीलाई राजनीतिमुक्त, जीवनराम जस्तो पदलोलुप प्रवृत्ति मुक्त गर्नु आजको नेपाली खेलकुदको, नेपाल ओलम्पिक कमिटीको युगिन आवश्यकता हो ।
राजनीतिक रुपमा नै पनि उनले एमालेको कोटाबाट पाएको खेल सत्ता दशकौसम्म चलाए ।अहिले उनले एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीको नेताको रुपमा ओलम्पिक कमिटीमा हैकम जमाउन खोजेका छन् । उनले सानो पार्टीको नेताको ठूलो दाउखानखोजेकाहुन । अहिले उनले थापेको च्याँखे दाउ राजनीतिक रुपमा हास्याष्पद छ । देश अहिले जनताले चुनेका दुई ठूला दलकाँग्रेस र एमालेको सत्ता गठबन्धनबाट चलेको आलोकमा राष्ट्रिय पार्टी नै हुन नसकेको नेकपा एसको नेताले ओलम्पिक कमिटीमा गिद्धे नजर लगाउनु पनि कुनै जोड र कोणबाट जायज होईन ।
ओलम्पिक कमिटीमा एक त राजनीतिक छायाँ नै पर्नु हुदैन, त्यसमाथि केही थान सांसद भएको पार्टीका नेताको मुठ्ठीमा त ओलम्पिक कमिटीको नेतृत्व जानै हुदैन । जीवनरामले नै अब एनओसीलाई राजनीतिक चंगुलमा फसाउन खोज्ने हो भने सचेत खेलप्रेमीले, ओलम्पियनहरुले उनलाई एनओसीबाट हटाउन सक्नुपर्छ । त्यसैले पनि जीवनराम अब एनआसीबाट हटाईनुपर्छ । उनले ठूलो छाती गरेर बिदाई र बिश्राम लिनुपर्छ ।


