विजयकुमार पाण्डे ।
पीएल सिंह दाइसँग सम्बन्ध र सम्झनाको डोरी निक्कै लामो छ । किशुनजीसहित यहाँ राखिएको तस्बिर त धेरैपछि मीन बज्राचार्यले खिचेका हुन् । पीएल दाइसँग पहिलो परिचय हुदा देशमा पंचायत व्यवस्था थियो । उनी त्यसबखत ‘प्रतिबन्धित’ नेपाली कांग्रेसका बिज्ञप्ति र पर्चा बोकेर हाम्रो छापाको कार्यालयमा आउँदा पहिलो भेट भयो । पहिलो भेटमै स्थापित सम्बन्धको डोरी, समयक्रममा न चुँडियो, न कमजोर भयो । मजाकिया स्वभाव का देखिने पीएल दाइ, हाँस्दा हाँस्दै ज्यादै सिरियस र गहिरो कुरा गर्ने क्षमता राख्थे ।
बाहिरबाट हेर्दा हलुका झैं देखिने पीएल सिंह सिद्धान्तका मामिलामा–आफ्ना पितातुल्य नेता लौहपुरुष गणेशमानजी जस्तै चट्टान झैं कठोर र अटल थिए । छलकपटरहित इमान उनको परिचय थियो । बाहिरबाट हेर्दा सधैं मुस्कुराइ रहने पीएल दाइ मनभित्र पीडा र विषाद लुकाएर पनि बाँचे । पीएल सिंह, पदभन्दा ठूला थिए । मान र अपमानभन्दा अग्ला थिए । जित र हार दुबै सहजै पचाउने औकात राख्थे । आमाका एक्ला सन्तान पीएल दाइको अन्तिम संस्कारमा कागेश्वरी घाटमा मैले माननीय शंकर पाण्डेलाई पनि भेटें । नेपाली कांग्रेसका सदस्य शंकर पाण्डे हाल सांसद पदमा छैनन् । उनी २०३७ सालदेखि खुट्टामा जुत्ता चप्पल केही नलगाई खाली खुट्टा हिँड्छन् ।
– शंकरजी,
तपाईं यतिका वर्षदेखि किन खाली खुट्टा किन हिँड्नु हुन्छ शंकरजी ?
‘किनभने मेरो प्रतिज्ञा छ– जबसम्म देशमा प्रजातन्त्र आउँदैन तबसम्म जुत्ता चप्पल लगाउन्न । खाली खु्ट्टा हिँड्छु ।’
– के भन्या त्यस्तो शंकरजी ! देशमा प्रजातन्त्र अझै आएको छैन र ?
‘जनताले महसुस गर्ने प्रजातन्त्र आएको भए , म किन नाङ्गै खुट्टा हिँड्थें र विजयजी !’
– शंकरजी , तपाई तीन तीन पटक सांसद भएर पनि प्रजातन्त्र आएन भन्नु हुन्छ ?
‘म सांसद भएँ भन्दैमा सत्य बदलिन्छ र ? आएको भए म खाली खुट्टा किन हिँड्थें र । संसद भवन पनि म जुत्ता चप्पल नलगाई , खाली खु्ट्टा गएँ । अनि अर्को कुरा मैले २०३७ सालदेखि खाना पनि एक छाक मात्र खान्छु । ’
– किन एक छाक शंकरजी ?
‘धेरै बाँच्नलाई । मेरो ११३ वर्ष बाँच्ने योजना छ । म अहिले जम्मा ७२ भएँ । म नेपालमा प्रजातन्त्र नहेरी मर्दिन । धेरै मान्छे मभन्दा अघि बिदा हुनेछन् । प्रजातन्त्र ल्याउनका लागि म काम पनि गर्दैछु । खाली बसेको छैन ।’ – तपाईको नजरमा पीएल सिह कस्ता मान्छे हुनुहुन्थ्यो ?
‘उहाँ महात्मा हुनुहुन्थ्यो । महात्मा मेयर । हामी सबै एक महात्माको सम्मानमा उहाँको अन्तिम दर्शनका लागि यहा जम्मा भएका छौं । पीएल सिंह–एक यस्तो महात्मा, जो राजनीतिमा पनि थिए तर आफ्नो शर्तमा मात्र !’


