-सुमना श्रेष्ठ
आज आशिकाजीसङ्ग भेट भयो । आशिकाजीलाई माघ २ मा प्रकाउ गरिएको हो। आज १५ दिन भयो, अब विभिन्न जिल्लाको हिरासतको सयर गराउने कुरा हुँदैछ । उहाँको तरिका अराजक छ, त्यसमा असहमति हुँदा पनि त्यसमा आममानिसको आक्रोश प्रतिबिम्वित भएको देख्छु । अभद्र व्यवहारमा अझै के अनुसन्धान गर्न बाँकी छ, जुन अहिलेसम्म हुनसकेको छैन, सबै वृत्तान्तको भिडियो आफैंले पोस्ट गरेकी छिन् त ? यो विभिन्न जिल्लामा जाहेरी दिने को हो, अरु जाहेरीमा पनि यही रफ्तारमा कारबाही हुन्छ ?
यो त सरासर ‘हाम्रो विरोध गर्छस् ! पख देखाइदिन्छु’ भनेको होइन ? यो भन्दा गम्भीर घटना शिक्षालयमा तालाबन्दी/तोडफोड गर्ने दल संरक्षितहरूलाई केही नगर्ने, प्राध्यापक कुट्नेलाई विदेश जान दिने, दिनमा फरार रातमा प्रहरीकै कार्यक्रममा सरिक भएको पनि देखेकै हो हामीले । अहिले आशिकाजीको सट्टा कुनै दल निकट कोहीलाई प्रकाउ गर्ने कुरा मात्र उठेको भए के भइसक्थ्यो हामीले नभोगेको हैन । शक्तिकेन्द्रसम्म पहुँच नभएकोलाई मात्र पेल्ने नियत भो ।
राज्यसँग अपार शक्ति छ, शक्तिशालीले संयमित हुनु पर्दछ । राज्यले अभिभाकत्व लिनुपर्ने ठाउँमा–अस्ति चितवनमा युवकलाई निर्घात कुट्नु र अहिले आशिकाजीलाई मानसिक यातना दिनुमा समानता छ–राज्यको अनावश्यक बल प्रयोग ।
गृहमन्त्रीज्यू यसमा तपाईँको मौन समर्थन प्रष्ट छ, नत्र प्रहरीले यत्रो ज्यादति गर्ने थिएन । यसरी प्रहरीको गिरफ्तारी गर्नु अघि के उहाँलाई उपमेयरको समक्ष न्यायिक समितिमा लगियो ? के उहाँलाई मौखिक चेतावनी दिइयो ?
बौद्धिक वर्ग–उहाँको तरिकासँग असहमति होला तर गल्ती अनुसारको दण्ड हुनुपर्ने हो नि – के यसरी यातना दिनु उचित छ ? अब त सरकारले समाजिक सञ्जाल नियन्त्रण गर्ने विधेयक ल्याएको छ, त्यसपछि त स्टाटस लेखेकै भरमा ७७ जिल्लाकै हिरासत घुमाउन सक्ने देखियो सरकारले, यस्तो अवस्थामा पनि चुप बस्ने हो ?
अनि हामीले विचार गर्ने बेला आयो समाजमा कति आक्रोश गुम्सिएर बसेको रहेछ, जसले नागरिकलाई यस्तो तरिकाले निकास खोज्न बाध्य बनायो, यसलाई बेलैमा सम्बोधन गर्ने हो कि विस्फोट हुन दिने हो ? आशिकाजीलाई रिहा गरियोस् । राज्यले आफ्नो प्राथमिकता तय गरोस् र विवेक प्रयोग गरोस् । आशिकाजीलाई न्याय मिलोस् ।


