वीरगंज । वीरगन्जमा आयोजित नेशनल इन्फोटेक (एनआई) कप क्रिकेटको उपाधि ग्लोबल विजनेश कलेजले जितेको छ । वीरगंजको नारायणी क्रिकेट मैदानमा बिहीबार भएको फाइनल खेलमा ज्ञानदा एकेडेमीलाई ७ रनले हराउँदै ग्लोबल विजनेश कलेजले उपाधि उचालेको हो ।
ग्लोबलले दिएको ८९ रनको लक्ष्यका साथ जवाफी व्याटिङ्मा उत्रिएको ज्ञानदाले पुरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा ८१ रनमात्र बनाउन सफल भयो । जसमा लागि गुड्डु यादवले सर्वाधिक १५ रन बनाए भने मुुन्ना यादवले १४ रनको योगदान दिए । बलिङ्तर्फ ग्लोबल कलेजका लागि निरज राय र कर्ण बहादुरले समान दुई–दुई विकेट हात पारे ।
टस जितेर पहिले व्याटिङ गरेको ग्लोबल बिजनेश कलेजले पुरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ८८ रन बनाएको थियो । ग्लोबलका लागि आदर्श भण्डारीले सर्वाधिक ४३ रन र शुभम बरालले ११ रन बनाए । फाइनल खेलको म्यान अफ दी म्याच ग्लोबल कलेजका आदर्श भण्डारी घोषित भए ।
यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी ग्लोब बिजनेश कलेजका कर्ण बहादुर विश्वकर्मा ,उत्कृष्ट ब्याटर ग्लोबल कलेजकै रविन्द्र कुवँर र उत्कृष्ट बलर ज्ञानदा एकेडेमीका कन्हैया कुमार घोषित भएका थिए । प्रतियोगिताको समापन समारोहमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उपाधि विजेता ग्लोबल विजनेश कलेजका खेलाडीहरुलाई ट्रफी र मेडल प्रदान गरे । प्रतियोगितामा १० वटा निजी कलेजले सहभागिता जनाएका थिए ।




