-रविन्द्र मिश्र ।
समाजको हरेक पक्ष पतित भइसक्यो । ‘Multiple organ failure’ हुँदा पनि व्यवस्था ठिक छ“ भनेर एकोहोरो रटान लगाउने, सबै होइन, पूर्वाग्रह र स्वार्थले ग्रस्त, नागरिक समाजका अगुवा, पत्रकार, प्राज्ञ र टिप्पणीकारहरू देशको यो अवस्थाका लागि राजनातिकर्मी भन्दाबढी जिम्मेवार छन् । तिनलाई देशको भन्दा आफ्नो विचारको बढी माया छ। तिनको मनमा १८ महिना प्रत्यक्ष शासन गरेका राजासँगको रिस बाहेक अरू केही छैन।
जनता सारा देश छोडेर जाउन्, देश भाँडमै जाओस्, आफ्नै सन्तान देश फर्किन नसक्ने स्थिति होस्, तिनलाई मतलब छैन । तिनलाई मतलब छ त केबल गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको मतलब छ । विश्व भूराजनीति बदलियो, देश दिनप्रतिदिन राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै रूपमा क्षयिकृत भएर गयो, भावी पुस्ता र देशको अस्तित्व समेत संकट उन्मुख भयो, त्यसैले विगतका गल्तीबारे सबैले सबैलाई क्षमा गरौँ, विगतका सबै गल्तीबाट सिकेर संविधानलाई सर्भिसिङ होइन, ओभरहलिङ गरौँ भन्दा तिनलाई पच्दैन ।
राजनीतिकर्मीबाट हजार गल्ती भए, राजाबाट पनि केही गल्ती भए, तर नेपालको परिप्रेक्ष्यमा राजा र राजनीतिकर्मी मिल्नै पर्छ भन्दा तिनलाई त्यो पनि पच्दैन । व्यक्तिगत विचारबाट उन्मत्त भएर राष्ट्रिय हितलाई गौण ठान्ने ठालुहरू नेपालको रूपान्तरणमा भ्रष्ट राजनीतिकर्मीभन्दा ठूलो बाधक हुन् । नेपाल बनाउने हो भने राजनीतिकर्मीभन्दा पहिले यी सुध्रिन जरूरी छ।


