MP Achyuta Samanta संस्थापक , KIIT ओडिसा, भारत
सबैभन्दा पहिला मेरा प्रार्थना र समानुभूति व्यक्त गर्न चाहन्छु–दिवंगत प्रकृति लम्सालको लागि र उनको परिवारका लागि । म भरखरै घर फर्केको छु । विगत केही दिन समाचार जगतबाट टाढा थिएँ । जब यो दुःखद समाचार पढें, तपाईं पनि मष्तिष्कमा आउनु भयो । गतवर्ष सेप्टेम्बर महिनामा तपाईं काठमाडौं आउँदा मित्र विश्व पराजुलीजीको सौजन्यबाट तपाईंलाई भेट्ने र सुन्ने मौका मिलेको थियो । म सम्झन्छु कति खुसी भएको थिएँ म तपाईंका कुरा सुनेर, तपाईंले गरेका परोपकारी कामबारे प्रदर्शित वृतचित्र हेरेर ।
तपाईंका शब्दहरु मेरो कानमा अझै ताजा छन् जब तपाइैंले भन्नुभयो – ‘मैले जुन प्रकारको इज्जत र स्नेह यहाँ नेपालमा पाएको छु , त्यो मैले अन्य कुनै देशमा पाईन ।’
हुन त तपाईंलाई भेट्न अघि मैले तपाईंका परोपकारी कामबारे अमिताभ बच्चनजीको ‘कौन बनेगा करोडपति’ मा देखेको पनि थिएँ । तर बडा दुःखका साथ भन्नुपर्छ म, आज तपाईंले नै स्थापना गर्नुभएको संस्थानमा एक नेपाली विद्यार्थीले आत्महत्या गर्ने परिस्थिति र त्यसपछि तपाईंको स्थापना गर्नु भएको संस्थामा कार्यरत कर्मचारी, शिक्षक र अधिकारीहरुको अमानवीय व्यवहरका समाचार पढेर निरास भएको छु ।
मलाई लाग्छ, तपाईंको संस्था, आफ्ना तमाम उपलब्धिका बाबजुद, आफ्नो संस्थामा कार्यरत केही मान्छेहरुलाई आधारभूत मानवीय मूल्य र मान्यता सिकाउन कतै चुकेको छ । गम्भीर भूल भएको छ तपाईंहरुबाट ।
हुनत कुनै दुई चार जनाको दुव्र्यवहारले नेपाल र भारतबीच जनस्तरको मैत्री सम्बन्धलाई मापन गर्न सकिन्न । नेपाल र भारत दुबै, पूर्वीय सभ्यताका महान धर्म र महान सस्कृतिका मूल्य मान्यतामा विश्वास राख्छन् ।
तर मलाई लाग्छ , तपाईंको संस्थाका केही मान्छेहरुले ती मूल्य, मान्यता र न्यूनतम सम्मान रेखाको नग्न उल्लंघन गरेका छन् ।
मलाइ विश्वास छ, त्यो गम्भीर कानुनी र नैतिक उल्लंघनलाई, भारतको कानुनी प्रकृयाले यथाशिघ्र न्याय निरुपण गर्ने नै छ । ओडिसा सरकारले जाँच समिति गठन गरेको छ । हामीलाई बिश्बास छ दोषीलाई उपयुक्त दण्ड दिएर न्यायले आफ्नो गरिमा कायम गर्नेछ । जब यी सबै घटना घटेका छन्, मेरो मनमा तपाईं आउनु भएको छ । के तपाईं अझै आफूले काठमाडौंमा बोलेका कुरामा अडिग हुनुहुन्छ ? प्रिय अच्युत सामन्तजी–मलाई विश्वास छ, तपाईं न्यायको पक्षमा उभिनु हुनेछ, बोल्नु हुनेछ । र कानुनी प्रकृयालाई सघाउनु हुनेछ । तपाईं आफूले स्थापना गरेको संस्थामा न्याय र करुणाको वातावरण स्थापना गर्न गराउन उभिनु हुनेछ । धन्यवाद सहित ।
-विजय कुमार
लेखक, पत्रकार


