-दीपकराज जोशी
विभिन्न देशमा राजालाई वा आफूभन्दा उच्च व्यक्तिलाई अभिवादन गर्ने तरिका फरक–फरक पाइन्छ। कतै ढोगेर, कतै घुँडा टेकेर, कतै झुकेर, त कतै पूरै शरीर नै घिसारेर सम्मान प्रकट गर्ने चलन छ। कतिपय देशहरूमा राजासँग आँखामा आँखा जुधाउनसमेत निषेध गरिएको पाइन्छ । यस्ता चलन समाजको सांस्कृतिक, धार्मिक, ऐतिहासिक पृष्ठभूमि र राजनीतिक संरचनाले निर्धारण गर्छन्।
नेपालमा पनि इतिहासमा यस्ता घटना घटेका छन्।जस्तो कि राजा त्रिभुवनले प्रजाका एक साधारण छोराको गोडा छोएको दृश्य, जुन कुरा इतिहासमा अभिलेखित छ । राजाले सम्मानपूर्वक गोडा छोएका ति व्यक्ति थिए सहिद गंगालाल श्रेष्ठका पिता, जसका छोरा गंगालाल र उनका सहयोद्धाहरूले राणा शासन विरुद्ध बलिदान दिएका थिए । गंगालालको बलिदानप्रति सम्मान प्रकट गर्न राजा त्रिभुवनले उनका पिताको गोडा छोएका थिए । यो दृश्य नेपालको इतिहासमा मात्र होइन, विश्वकै शासकीय इतिहासमा दुर्लभ मानिन्छ। किनभने प्रायः राजाहरूले प्रजाबाट सम्मान लिन मात्रै चाहन्छन् भन्ने स्थापित मान्यतालाई भत्काउनमा यस्ता उदाहरणहरु बलियो कसी साबित हुन्छन् ।
त्यस्तै, राजा वीरेन्द्रले कांग्रेसका नेतालाई रातो कार्पेटमा हिंडाएको दृश्य पनि नेपालका ऐतिहासिक क्षणहरूमध्ये एक हो । जननिर्वाचित प्रधानमन्त्रीलाई सम्मानस्वरूप रातो कार्पेटमा हिंडाउने राजा वीरेन्द्रको त्यो व्यवहार शासक र प्रजाबीचको सम्बन्धलाई परिभाषित गर्ने अर्को एउटा महत्वपूर्ण क्षण थियो ।
इतिहासको सन्देश यो हो कि समयानुसार आफूलाई परिवर्तन गर्न सक्ने नेतृत्व नै दीर्घकालीन रुपमा टिक्छ । जसले आफ्ना अहंकार त्यागेर, जनताको मन बुझेर, समाजको आवश्यकतानुसार सोच्न र निर्णय लिन सक्छ, ऊ मात्र असल राजा वा असल नेता बन्न सक्छ । जसले परिवर्तनलाई अस्वीकार गर्छ, समयले उसलाई पनि अस्वीकार गर्छ ।
नेपालका राजाहरूले देखाएको परिवर्तनशीलताका यस्ता उदाहरणहरूले यो प्रमाणित गर्छन् कि साँचो नेतृत्व शासन गर्नमा होइन, जनताको मन जित्नुमा छ । यही गुणले मानिसलाई असल मानिस बनाउँछ, अनि राजालाई असल राजा ।


