-गोकुल निरौला ।
केहीदिन यता सरकारको काम कर्तव्य फरकढंगले चलिरहेको छ । सभा समारोहमा प्रधानमन्त्रीविरुद्धका नाराबाजी चलिरहेको सुनिन्छ भने केपी ओली समर्थकहरु आक्रमणमा उत्रेको भिडियो सामाजिक संजालमा देख्न पाइरहेको छ । देशका प्रधानमन्त्री ओली टिकटक स्टार र आफ्नै बारेमा गुनगान गाएको केपी बा बोलको गीत सुनेर मस्त आनन्द लिइरहेका छन् । सरकार किन यति निर्दयी र देशका प्रधानमन्त्री यति फुर्सदिला कसरी भएको ? के सरकारले आलोचना सुन्ने चेत हराइसक्यो त ? यी र यस्तै प्रश्नले गिज्याइरहेको छ । प्रधानमन्त्री केपी ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा गरेका भाषण सम्झौं । ओलीले होसहवासमै बोलेका भाषणलाई एकपटक सम्झने काम गरौँ । प्रधानमन्त्री भएपछि भनेका थिए पूर्व–पश्चिम रेल, केरुङ–पोखरा–काठमाडौ रेल, घरघरमा ग्याँस पाइपलाइन, बेरोजगारी समस्याको अन्त्य, गरिबीको अन्त्य, सडकमा माग्ने भेटिने छैनन्, कोही मानिस भोकै बस्ने छैनन्, यी त केही उदाहरण मात्रै हुन् ।
संविधान निर्माण पछिको पहिलो आमनिर्वाचनबाट बनेको (एमाले माओवादी)नेकपाको सरकार बन्यो । त्यो सरकार पनि कहिले बिजुलीको पोलपोलमा भेटियो त कहिले होली वाइनको स्वागत गर्न सोल्टी होटलमा भेटिएको थियो । सुन काण्डदेखि मलकाण्डसम्म ओली सरकारको पालामा भएका थिए। ओली सरकारले यति मात्र गरेन संसद् अधिवेशनको हठात अन्त्य गरेर विपक्षीहरूले कुरा उठाउने बाटो बन्द गराएरै छाडेको थियो । ऊबेला जुम्ला पुगेका गोविन्द केसीलाई होटलमा बन्धक बनायो । राज्यले वार्तामा बोलाउँदासमेत नआएको भन्दै ओलीले नै विप्लव माओवादीलाई प्रतिबन्ध लगाए । सरकारको विरोध गरेको भन्दै गायक पशुपति शर्माको गीत युट्युबबाट हटाइयो भने प्रश्न सोधेकै आधारमा राजु थापालाई नेपाल टेलिभिजनबाट हटाइयो ।
ओली सरकारले पुरानै कार्यशैली दोहोर्याउन छाडेको छैन । केहीदिन पहिले रंगशालामा फुटवल हेर्न गएका युवा माथिको आक्रमण र सोसलमिडिया माथिको प्रतिबन्धले सरकारको आलोचना सुन्ने चेत हराइ सकेको भान भएको छ । पत्रकारले प्रश्न सोधेकै आधारमा पत्रकारको पास खोसियो । जनताको मन जित्न सफल भएका एक्ला कुलमानलाई हटाउन उनलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्यमा झार्यो । नेपालमा सरकार परिवर्तन हुनु नयाँ कुरा होइन। तर प्रत्येक सरकारसँग नयाँ आशा र अपेक्षा जोडिन्छन् । जनताले परिवर्तनको लागि भोट दिन्छन्, राम्रो शासनको आशा गर्छन्, र देश समृद्धि तर्फ अग्रसर होस् भन्ने चाहन्छन् । तर जब सरकार अक्षम, गैरजिम्मेवार र असक्षम देखिन्छ, तब जनता निराश बन्छन् ।आजको सन्दर्भमा हेर्दा, हाम्रो सरकारलाई ‘बबुरो सरकार’ भन्दा फरक नपर्ला । किनभने यो सरकार आफैं अस्थिर छ, नीति–निर्माणमा अस्पष्ट छ, अनि कार्यान्वयनमा पूर्णतः असफल देखिन्छ। देशको आर्थिक अवस्था कमजोर हुँदै गएको छ, बेरोजगारी दर उच्च छ, मुलुकबाट युवाशक्ति पलायन भइरहेको छ।
तर सरकारका मन्त्रीहरू आफ्नै दुनो सोझ्याउने ध्याउन्नमा छन्। केही अघि भारतद्वारा लगाइएको आर्थिक नाकाबन्दीविरुद्ध राष्ट्रिय प्रतिरोधसँग उभिएर ‘हिरो’ बनेका ओली अहिले भ्रष्टाचार, सर्वसत्तावाद र असफलताका पात्रका रुपमा चित्रित छन्। आफ्नै पार्टीका नेतालाई जानकारी नगराई जमिन दान लिनुले ओली पार्टीभित्रै आलोचनाका पात्र बनेका थिए । सरकारका मन्त्रीहरूलाई हेरौं। उनीहरू नीति बनाउन, समस्या समाधान गर्न, अनि मुलुकलाई समृद्ध बनाउने दायित्व बोकेर आएका हुन्। तर अधिकांश मन्त्रीहरूको कामकाज हेर्दा लाग्छ, उनीहरू जिम्मेवारी वहन गर्न होइन, पदको दुरुपयोग गर्न मात्र आएका छन्। देशका गृहमन्त्री रमेश लेखकले बाढिको चपेटामा परेका जनतालाइ उद्दार गर्नुको सटो भिजिबिलिटि नदेखिएको भनेर टारे ।
गण्डकी प्रदेशका एकजना मन्त्रीले केही महिना अगाडि मन्त्रालयनै बिक्रिमा छ भनेर बोलेको अडियो बाहिरियो । कोशी प्रदेशका मन्त्रीले मान्छे बेचेको आरोपमा राजीनामा दिनुपर्यो । प्रदेश सरकार होस् कि प्रदेश सरकारमा सहभगि मन्त्रीहरुमा नैतिक आचरणकै कमि देखियो । सरकारले आफ्नो कमजोरी महसुस गर्नुपर्छ। मन्त्रीहरूले आफ्नै मन्त्रालयबारे ज्ञान आर्जन गर्नुपर्छ, सुशासनको पक्षपोषण गर्नुपर्छ, अनि जनताप्रति उत्तरदायी बन्नुपर्छ। अन्यथा, जनता फेरि सडकमा उत्रनेछन्, अनि इतिहासले बबुरो सरकार र बुकख्याँचा मन्त्रीहरूको ठाउँ सही ठाउँमा तोक्नेछ। देशको आर्थिक अवस्था कमजोर हुँदै गएको, मुद्रास्फीति बढेको, बेरोजगारीदर उकालो लागेको जस्ता कारणले सरकारप्रति जनताको असन्तुष्टि बढेको छ। पूर्वराजाका समर्थकहरुले काठमाण्डुको सडक तताएका छन् । सरकारका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकिरहेका छैनन् ।
विकास निर्माणमा ढिलाइ तथा आधारभूत सेवा (स्वास्थ्य, शिक्षा, यातायात) मा समस्या देखिएका कारण नागरिक झन निराश देखिएका छन् । सरकारी निकायमा व्यापक भ्रष्टाचारका घटनाहरू सार्वजनिक भइरहेका छन्, तर दोषीहरूलाई कारबाहीको अभाव छ। उच्च तहका नेताहरू तथा सरकारी कर्मचारीहरूमा नैतिकताको कमी देखिनुले सरकारप्रति बिरोधका गतिविधि बढिरहेका छन् । सत्तारूढ गठबन्धनभित्रकै मतभेद, प्रमुख नेताहरूबीचको विवाद, तथा स्थिर सरकार दिन नसक्ने अवस्था पनि असन्तुष्टि बढाउने कारक बन्न पुगेको छ प्रतिपक्षी दलहरू सरकारको कमजोरीलाई हतियार बनाएर जनतामा असन्तोष फैलाउने प्रयास गरिरहेका छन् ।
उनीहरूले सरकारको असफलता औंल्याएर आन्दोलन तथा प्रदर्शनहरू चर्काउने हुँदा सरकार विरोधी समूहहरू थप संगठित हुँदै गएका छन् । एकातिर सरकारले सामाजिक संजालमाथि नियन्त्रण गरेपनि सामाजिक सञ्जालमार्फत सरकारका निर्णय, कमजोरी, तथा असफलताबारे छिटो समाचार फैलिन्छ गरेको छ । यसले जनताको आक्रोशलाई झन् तीव्र बनाउने भूमिका खेल्छ। सरकारमा सहभागी दलका मन्त्रीहरु तरकाति बारिमा ठड्याइएका बुख्याँचा भएर ओलीको समर्थन गरिरहेका छन् । आलोचना र असन्तुष्टिका बीच सरकारले जनतालाई भरोसा दिलाउनेकी ? टिकटक स्टार र आफ्नै बारेमा गुनगान गाएका गीत सुनेर बस्ने ओली सरकारकै हातमा छ ।


