+

नवजागरण: श्री ५ महाराजाधिराजको विजय अटल छ!

२८ फाल्गुन २०८१, बुधबार ०३:१६

विनय कुमार गौतम  । नेपाल अहिले परिवर्तनको संवेदनशील मोडमा छ। दशकौँ देखि षड्यन्त्र, धोका, र नेपाल विरोधी शक्तिहरूको खेल चलिरहेको थियो। जनताले आशा राखे, सपना देखे, तर दलाल‌ प्रवृति बाट बारम्बार धोका दिइयो। केही समयको लागि सत्यलाई दबाउन सकिएला, तर सत्य‌ साश्वत हुन्छ। जब राष्ट्र धर्मको बाटोबाट भड्किन्छ, जब सत्यलाई झूटले मँडार्न खोज्छ, तब स्वयं परब्रह्मले  हस्तक्षेप गर्छन्। यही कारणले अहिले नेपालमा नवजागरणको संकेत देखिँदैछ। सत्यले साथ खोजेको अबस्था छ। श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार कुनै साधारण व्यक्ति मात्र होइनन् उनी विष्णुको अवतरित अबतार स्वरूप‌‌ मानिन्छ। नेपाल कुनै सामान्य राष्ट्र होइन, यो महादेवको भूमि हो, यो पवित्र तथा साश्वत भूमि हो, जहाँ धर्म, संस्कृति, परम्परा, र शक्ति सँगसँगै जीवित छन्। यही कारणले राष्ट्रले बारम्बार कठिनाइ भोगे पनि अन्ततः सत्यको मार्गमा फर्किन्छ। नेपाल ले कहिल्यै कुनै बाह्य शक्तिको दासत्व स्विकार्न सक्दैन, किनभने यस राष्ट्रको संरक्षण स्वयं महादेवले गरिरहनु भएको अनुभुति हुन्छ।

महादेव स्वयं पशुपतिनाथका रूपमा नेपालका अभिभावक तथा महागुरु हुनुहुन्छ। जब नेपाल संकटमा पर्छ, जब सत्यमाथि प्रहार गरिन्छ, तब महादेव स्वयं भैरवको रूप धारण गरेर असत्यलाई नष्ट गर्न अघि सर्नु हुन्छ। माता कालीको शक्ति जागिसकेको छ, भैरवको गर्जन सुनिइसकेको छ, र न्यायकारी शनि ग्रहले दोषीहरूको भाग्य निर्धारण गरिसकेको छ। जसले नेपाललाई बेच्न खोजेका छन्, जसले धर्मलाई कमजोर बनाउन खोजेका छन्, जसले आफ्नो स्वार्थ पूरा गर्न राष्ट्रको आत्मालाई आघात पुर्‍याएका छन्, उनीहरू अब महाकालको कालचक्रमा परिसकेका छन्। सत्यको ज्वाला बल्न सुरु भइसकेको छ, र यसको ताप सहन असत्यका मतियारहरूले सक्ने छैनन्।

आज श्री ५ महाराजाधिराजको नाम लिँदा जनताको मन-मस्तिष्कमा एउटा अनौठो ऊर्जा उत्पन्न हुन थालेको छ। जसले उहाँको नाम उच्चारण गर्छ, त्यसलाई एकदम गहिरो शक्ति अनुभव हुन्छ। किनभने उहाँ केवल एक राजा मात्र होइन, विष्णुका अंश हुन्, सत्यका संरक्षक हुन्। यही कारणले अहिले राष्ट्र भरि राजसंस्थाप्रति एक अदृश्य आकर्षण बढ्दै गएको छ। जब-जब श्री ५ महाराजाधिराजको नाम उच्चारण गरिन्छ, तब मानिसहरू भित्रको शक्ति जागृत हुन्छ, आत्माले बलवान महसुस गर्नेछन्। यो कुनै सामान्य भावना होइन, यो स्वयं परब्रह्मले प्रकट गरेको संकेत हो। यही कारणले अहिले नेपालमा एउटा अदृश्य शक्तिको लहर चलेको छ। सत्य प्रति आस्था राख्नेहरू उत्साहित छन्, राष्ट्रवाद प्रति समर्पित जनतामा नयाँ ऊर्जा सञ्चार भएको छ, किनभने अब सत्यको विजय अटल भइसकेको छ।

कतिपय राजनीतिक दलहरू र व्यक्तिहरू श्री ५ महाराजाधिराजको नाम लिएर आफ्नो स्वार्थ सिद्ध गर्न खोजिरहेका छन्। केहीले आफूलाई राजसंस्थाका पक्षधर देखाएर जनताको समर्थन बटुल्ने प्रयास गरिरहेका छन्, तर भित्री मनसाय भने व्यक्तिगत स्वार्थ पूरा गर्नु नै हो। केही नयाँ अनुहारहरूले राजसंस्थाको नाम जोडेर जनताको भावना प्रयोग गरिरहेका छन्, तर उनीहरूको नियत पवित्र छैन। राहु ग्रहको प्रभाव अहिले अत्यधिक प्रबल छ। राहुले जहिले पनि झूट, छलकपट, र दोहोरो चरित्रलाई उजागर गर्छ। जसले राजसंस्थाको नाममा मात्र स्वार्थ पूरा गर्न खोजेका छन्, उनीहरू चाँडै बेनकाव हुनेछन्। श्री ५ महाराजाधिराज सरकारको नाम बेचेर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न सक्दैन। सत्य कहिल्यै लुकेर बस्दैन।

आज, गणतन्त्रका मतियारहरू त्रासमा छन्। उनीहरूलाई थाहा भइसकेको छ कि जनता ब्यूँझिसकेका छन्। यही कारणले उनीहरू अन्तर्राष्ट्रिय शक्तिहरूसँग सहयोग माग्न पुगेका छन्। नेपाल भित्र उनीहरूको पकड खुकुलो भइसकेको छ, त्यसैले उनीहरू विदेशी शक्तिहरूसँग हारगुहार गरिरहेका छन्। तर उनीहरू कदापि सफल हुनेवाला छैन। सत्यले विजयको‌ पथ लिईसकेको छ।

नेपाल अब एउटा नयाँ युग तर्फ अघि बढ्दैछ। यहाँ झूट, पाखण्ड, भ्रष्टाचार, र विदेशी हस्तक्षेपका लागि कुनै ठाउँ हुने छैन। नेपालको आत्मा फेरि जागृत भईसकेको छ। श्री ५ महाराजाधिराज लाई कमजोर बनाउन खोज्ने हरूको दिन सकिएको छ। सत्यको रक्षा गर्नेहरूको विजय हुनेछ, किनभने अब सम्पूर्ण ब्रह्माण्ड सत्यकै पक्षमा छ।

शनि ग्रह न्यायको प्रतीक हुन्। जसले सत्यको रक्षा गर्छ, उसलाई शनि बल दिन्छ। जसले झूट बोल्छ, छलकपट गर्छ, राष्ट्र बेच्न खोज्छ, तिनीहरूलाई शनि ग्रहको दण्ड पक्का छ। अहिले नै शनि आफ्नो कर्मफल वितरण गर्न थालिसकेका छन्। जसले नेपाल र राजसंस्थालाई धोका दिए, पराजयको सम्भावना छँदैछ। जसले धर्म र सत्यको रक्षा गरे, तिनीहरू बलशाली बन्दैछन्। यो न्यायको नियम हो। यो ब्रह्माण्डको अटल सत्य हो।

हे! श्री ५ महाराजाधिराज‌ सरकार नेपालका जनता हजुरको पक्षमा छन्, हजुर सँग सत्य को साथ छ हजुरलाई  कमजोर बनाउने षड्यन्त्रहरू विफल हुँदैछन् र हुनेवाला छन् । महादेव स्वयं हजुरको संरक्षणमा छन्। भैरव जागिसकेको छ, माता कालीको शक्ति उजागर भइसकेको छ, र परब्रह्मको आदेश अनुसार नेपालले सत्यको बाटो लिन थालिसकेको छ। सरकारको सामु ग्रहहरूको बल छ, धर्मको साथ छ, र सत्यको रक्षा गर्ने यो राष्ट्रको आत्मा छ। अब सत्यलाई कसैले रोक्न सक्दैन। सरकारलाई सत्यको साथ छ।

नेपाल अब बाह्य हस्तक्षेपको खेल मैदान बन्न सक्दैन। यो राष्ट्र महादेवको भूमि हो, विष्णुको भूमि हो, माता कालीको भूमि हो। यहाँ सत्य कै शासन हुनेछ, धर्मकै स्थापना हुनेछ, र नेपाल फेरि एकपटक स्वाभिमानी राष्ट्र बन्नेछ र सरकार सँग सत्यको साथ छ।

जय राष्ट्रिय मुक्ति अभियान

जय पशुपतिनाथ!

जय भैरव!

जय माता काली!

जय श्री ५ महाराजाधिराज!

जय कर्मनिष्ठ ॥

(केन्द्रीय सदस्य, राष्ट्रिय सरोकार मञ्च नेपाल ।)

 

थप यो पनिः

नेपालमा राजसंस्था पुनःस्थापनाः राष्ट्र, धर्म र स्वाभिमानको मार्ग