+

राजसंस्था पुनर्वहाली भए के हुन्छ ?

२ चैत्र २०८१, आईतवार ०४:३५

-गोकुल निरौला ।

इतिहास हेर्ने हो भने नेपालमा विभिन्न समयमा राजसंस्था हट्ने वा कमजोर हुने घटना भएका छन् । राजा रणबहादुर शाहले १८०० (सन् १७९९) मा गद्दी त्याग गरे । उनले गद्दी छाडेपछि उनका छोरा गिर्वाणयुद्ध शाहलाई राजा बनाइयो, तर वास्तविक शक्ति उनले नै प्रयोग गरिरहे । पछि १८०४ मा पुनः शक्ति हत्याए । राणाहरूको शासनकालमा राजसंस्था शक्तिहीन थियो । २००७ साल (सन् १९५०) मा राजा त्रिभुवनले भारत शरण लिएपछि उनलाई हटाइएको ठान्न सकिन्छ। राणाहरूले उनका नाबालक छोरा राजा ज्ञानेन्द्रलाई राजा बनाए । तर, २००७ सालकै क्रान्ति सफल भई राजा त्रिभुवन पुनः गद्दीमा फर्के । राजसंस्था औपचारिक रूपमा अन्त्य हुने सबैभन्दा ठोस घटना २०६२/६३ को जनआन्दोलन हो । राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन लिएको विरोधमा जनआन्दोलन भयो।

२०६५ साल (सन् २००८) मा संविधानसभाले नेपाललाई गणतन्त्र घोषणा गर्दै राजसंस्था हटायो । नेपालमा राजसंस्था २०६२÷६३ को जनआन्दोलनपछि समाप्त भयो। २४० वर्ष लामो शाहवंशीय शासन अन्त्य भई देश संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत भयो। तर, अहिले पनि केही व्यक्तिहरू राजसंस्थाको पुनःस्थापनाको पक्षमा छन्। विश्व इतिहास हेर्ने हो भने विश्वका विभिन्न देशमा राजतन्त्र फर्केका पनि छन् । स्पेनमा १९३१ मा गणतन्त्र स्थापना भएको थियो। तर, १९७५ मा फ्रान्सिस्को फ्रान्कोको मृत्यु भएपछि स्पेनी राजसंस्था पुनःस्थापित भयो । राजा जुआन कार्लोस प्रथमले शासन सम्हाले। क्याम्बोडियामा १९७० मा राजसंस्था हटाइएको थियो। तर, १९९३ मा जनमत संग्रहमार्फत नोरोडोम सिहानुक पुनः राजा बने। दोस्रो विश्वयुद्धपछि युगोस्लाभिया कम्युनिष्ट गणतन्त्र बनेको थियो। तर, सर्बियामा २००० पछि राजसंस्था पुनःस्थापनाको बहस चल्यो, र राजकुमार अलेक्जान्डरलाई सांकेतिक रूपमा मान्यता दिइयो।

जहीर शाह १९७३ मा हटाइएका थिए। तर, २००१ मा तालिबान पतनपछि उनलाई अफगानिस्तान फर्काइयो, यद्यपि उनी पुनःराजा भएनन् । राजसंस्था फर्के के हुन्छ ? यसले नेपाललाई के असर पार्न सक्छ ? यही विषयमा चर्चा गरौं । राजसंस्थाका समर्थकहरू हालको लोकतान्त्रिक व्यवस्थाले स्थायित्व दिन नसकेको, नेताहरू असफल भएको र भ्रष्टाचार बढेको तर्क गर्छन् । उनीहरू भन्छन्, ‘राजसंस्था फर्केपछि देश स्थिर हुन्छ, सुशासन आउँछ।’ तर, इतिहासले देखाउँछ कि राजसंस्था रहँदा पनि राजनीतिक अस्थिरता कम थिएन। पञ्चायती व्यवस्थाको अन्त्यपछि २०१५ सालदेखि २०६२ सालसम्म राजसंस्था अनेकौँ आरोह–अवरोहको साक्षी बन्यो। यदि राजसंस्था फर्कियो भने पनि राजनीतिक अस्थिरता हट्ने ग्यारेन्टी छैन। राजसंस्था फर्कनुको अर्थ गणतन्त्र समाप्त हुनु हो।

२०६२/६३ को जनआन्दोलनले राजसंस्थालाई हटाएर जनताको सर्वोच्चता स्थापित गरेको थियो। यदि राजसंस्था पुनःस्थापना भयो भने, के जनताको सार्वभौमिकता फेरि कमजोर हुन्छ ? के राज्य फेरि सीमित व्यक्तिहरूको नियन्त्रणमा जान्छ ? राजसंस्थाका पक्षधरहरू भन्छन्, ‘राजसंस्था फर्केपछि विदेशी लगानी आउँछ, पर्यटन बढ्छ, अर्थतन्त्र बलियो हुन्छ।’ तर, वास्तविकता के हो भने कुनै पनि व्यवस्था आर्थिक वृद्धिको मुख्य कारक होइन, बरु नीतिहरू र सुशासन मुख्य हुन् । नेपालमा राजसंस्था हुँदा पनि आर्थिक समस्या उस्तै थियो। तसर्थ, केवल राजसंस्थाले मात्र आर्थिक समृद्धि ल्याउन सक्दैन। नेपाल बहुसांस्कृतिक, बहुजातीय र बहुधार्मिक समाज हो।

गणतन्त्रले सबै नागरिकलाई समान अवसर दिएको छ। राजसंस्था फर्केपछि के सबै जाति, वर्ग र समुदायलाई समान अवसर मिल्नेछ ? नेपालमा फेरि सामाजिक विभाजन बढ्ने सम्भावना छैन त? राजसंस्थाको पुनःस्थापना नेपालका लागि सहज निर्णय होइन। राजसंस्था अर्थात शाह वंशको इतिहासमा विभिन्न षड्यन्त्र र हत्याकाण्डहरू भएका छन्, जसले नेपालको राजनीतिक दिशालाई प्रभाव पारेका थिए। हत्या र सडेन्त्रको छानबिन समेत भएको छैन । सन १८०६ रणबहादुर शाहले आफ्ना सौतेनी बुबा बहादुर शाहलाई कारागारमा राखी मार्न लगाएपछि उनका नजिकका मानिसहरू विरुद्ध भए।

पछि उनले शासनबाट सन्यास लिएका थिए, तर पुनः सत्ता फर्काउने प्रयास गर्दा उनको आफ्नै सहयोगी भीमसेन थापाका साला शेरबहादुर शाहले हत्या गरे। नेपालकोलको इतिहासमा सबैभन्दा ठूलो राजनीतिक हत्या घटना हो कोतपर्व । र । रानी लक्ष्मीदेवीको आदेशमा कोतमा जम्मा भएका दर्जनौँ उच्च अधिकारीहरू मारिए। यो घटना पछि जंगबहादुर राणाले शक्ति हातमा लिएर राणा शासनको सुरुवात गरे।प्रधानमन्त्री रणोद्दीप सिंहको हत्या भएदेखि राजा त्रिभुवनका छोरा नरेन्द्र शाहको हत्या रहस्यमय रूपमा भयो। उनले मदिरा सेवन गरिरहेको बेलामा आफ्नै सेवकबाट गोली हानेर मारिएको भनिन्छ।

नेपाली इतिहासकै सबैभन्दा रहस्यमय घटना हो। नारायणहिटी दरबारभित्र राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत १० जना शाही परिवारका सदस्यहरू मारिए। यो हत्याकाण्डको दोष युवराज दीपेन्द्रलाई लगाइए पनि वास्तविकता अझै विवादित छ। केही दिनदेखि सडकमा देखिएको राजावादि हरुले ईतिहास भुलेको भान भएको छ । राजा र राणाहरुकै सासनकालको केही कुरा गरौ । प्रथम विश्वयुद्ध हुँदा (१९१४–१९१८) मा ब्रिटिश सेनाको तर्फबाट लडेका नेपाली (गोरखा सैनिक) मध्ये करिब २०,००० नेपाली सैनिकले ज्यान गुमाएका थिए। यो युद्धमा करिब २ लाख नेपाली गोरखा सैनिक लडेका थिए।

उनीहरू फ्रान्स, बेल्जियम, मध्यपूर्व, अफ्रिका, गालिपोली, मेसोपोटामिया (हालको इराक), र भारतको विभिन्न मोर्चामा लडेका थिए। राजकै शासनभए विकास हुने र नेपाली जनताले सुख सान्ति पाउने भए युद्धमा बिसहजार नेपाली नागरिक मारिदा नेपालले के पायो ? लोकतन्त्रका कमजोरीहरू भए पनि सुधार गर्ने विकल्प खोज्नुपर्छ। परिवर्तनको नाममा इतिहास उल्ट्याउनु समाधान होइन। गणतन्त्रको कमजोरी सच्याउनु नै नेपालको भविष्यका लागि उपयुक्त बाटो हुनसक्छ।