+

नेपाली राजनीतिका कोर्ष चेन्जर नेता

८ चैत्र २०८१, शनिबार ०४:०९

-जेपी गुप्ता

मैले गिरिजाबाबुको स्मृति दिवसको मौकामा यो पोष्ट गरिन, अरूहरूका पोष्टको अध्ययन गरेर बसें । राप्रपाका रविन्द्र मिश्रदेखि गिरिजाबाबुको बिरासत थाम्ने परिवारका सदस्यहरूको समेत । केही सान्दर्भिक, कतिपय अत्यन्त अतिरंजित तथा उपब्याख्या गरिएको। मलाई लाग्छ, पुराना कुराहरू ‘तथ्य’ हरूको संयोजन तथा प्रमाणका साथ लेखिँदा इतिहास हुन्छ। असत्य, अर्ध सत्य एवं अज्ञानतालाई टेकेर भावावेशमा लेखिएका कुराहरू प्रोपोगाण्डा मात्र हुन्छ । यस आधारमा हामी सबैले आ–आफ्ना लेखाईको स्वमूल्यांकन गर्नु नै हुनेछ । गिरिजाप्रसाद कोइराला वा समकालिन राजनीतिज्ञहरू कोही त्रृटीरहित देवता त हैनन् । विचारणीय कुरा के भने, हरेक व्यक्तिको योगदानको महत्व, तिनको गुण र दोषको मात्राको हो । जस्तो कि, गिरिजाप्रसाद कोइरालाले नेपालमा गणतन्त्र स्थापनाको नेतृत्व गर्नुभयो । यस निम्ति उहाँले नेपाली काँग्रेस पार्टीलाई नै बैचारिक रूपमा रूपान्तरित गराउनु भयो । बि.स. २००४ सालदेखि संवैधानिक राजतन्त्रको पक्षमा रहेको पार्टीलाई गणतन्त्रको नेतृत्वकर्ता र वाहक बनाउनु भयो। यस निम्ति शसस्त्र द्वन्दमा रहेका माओवादीलाई उहाँले शांति प्रकृयामा ल्याउनुका साथै, गणतन्त्र स्थापनाको उद्देश्यका लागि सहयात्री हुन सहमत गराउनु भयो ।

त्यस बखतका कतिपय कुराहरू आज सार्वजनिक भैसकेको छ । माओवादीलाई उपयोग गरेर राजा ज्ञानेन्द्रले खेल्न चाहेको खेल जगजाहेर छ। माओवादी द्वन्द्वको पछिल्लो बखतको राजनीति दुई ध्रुवमा विभाजित थियो । राजाको प्रयत्न थियो–माओवादीलाई साथ लिएर सात दल, विशेषतः नेका तथा एमालेलाई समाप्त पार्ने। यसका जानकार गिरिजा प्रसाद कोइरालाका लागि–राजाको प्रजातान्त्रिक शक्तिलाई समाप्त पार्ने मनसायलाई असफल पार्न माओवादीको साथ लिएर गणतन्त्रको दिशामा जानुको विकल्प थिएन । राजा आफ्नो कुटिल एवं कृतघ्न प्रयासमा सफल हुनु भएन, यसको सफलता गिरिजा बाबुलाई प्राप्त भयो। आज यसैमा गिरिजा प्रसादको आलोचना गरिन्छ । आलोचना गर्ने राजावादीहरू तथा इतिहासका तथ्यहरू प्रति निरपेक्ष अज्ञानीहरू शायद यस तथ्यको हेक्का राख्दैनन् कि यदि राजा सफल भएको भए मुलुकका सबै भन्दा ठूलो, पुरानो प्रजातान्त्रिक शक्ति यिनको लागि सहानुभूतिका हकदार हुदैनथ्यो होला । मेरो विचारमा जनता र संवैधानिक राजतन्त्रका पक्षधर एक निष्ठावान प्रजातान्त्रिक शक्तिका प्रति ऐतिहासिक रूपमा कृतघ्न रहेका राजतन्त्रका प्रति न्याय थियो–मुलुकमा गणतन्त्रको स्थापना। यस अर्थमा बि.स. २००७ साल पछिको युगान्तकारी परिवर्तन गराउने श्रेय गिरिजा प्रसादको लागि सुरक्षित रहेको छ।

हाम्रो अभिमानी समाज, अग्रजहरूको स्तुति गर्ने समाज नायकहरूको योगदानमा कतिको कृतज्ञ छ त ? हामी समग्रमा अरूको योगदानहरूलाई कतिको अभिनन्दन गर्छौ त? यता पनि ध्यान जानु पर्ने हो। गिरिजा बाबुको बारेमा प्रतिकृयाहरू लेखिदा कतिपय बन्धुहरूले यता ध्यान नपुर्याएको जस्तो लाग्छ। मन मानेन, अनि आज यो पोष्ट राखेको छु। सबैले बुझ्नु पर्ने हुन्छ कि गिरिजाबाबु नेपाली राजनीतिका गेम चेन्जर होइन, कोर्ष चेन्जर हो । भलै, आज उहाँले बदलेको ‘कोर्ष’ संग केही सहमत न होऊन् ।

बिपी कोईरालाको बि.स. २०२६ पछिको भारत प्रवासका दौरान उहाँले मुखपत्रको रूपमा ‘तरूण’को प्रकाशनको व्यवस्था गर्नु भयो। तरूणको सम्पादक चक्र बास्तेला र सुशील कोइराला, व्यवस्थापक वीरेन्द्र दाहाल हुनुहुन्थ्यो। तर, पहिलो सम्पादकीय बीपी कोइराला स्वयंले लेख्नु भएको थियो। आ–आफ्नो समयमा शैलजा आचार्य, प्रदीप गिरी, तुलसी प्रसाद भट्टराई जीहरू पनि कुनै न कुनै रूपमा संलग्न रहनु भयो।
तेस बखत कलकत्तामा रहनु भएका सूवर्ण शम्सेरजीसँग बीपीको कार्यनीतिक फरक धार बनेको थियो। यदि नेपाली काँग्रेसले व्यवस्थामै परिवर्तनको नेतृत्व गर्न सकेन भने यस पार्टीको कुनै औचित्य रहदैन। बरू बिघटन गरिदिए हुन्छ । पंचायतको यथास्थितिलाई समर्थन भनेको त त्यस राजनीतिक व्यवस्थामा केही मानिसहरूको स्थानलाई सुरक्षित गर्नु मात्र हुनेछ। बस् यतिको लागि ऐतिहासिक नेपाली काँग्रेसलाई कदापि पनि उपयोग गर्नु हुन्न् भन्ने बीपीको मान्यताले पार्टी भित्र अलग धार जन्माएको थियो–तेसैको स्पष्ट अभिव्यक्ति दिनका लागि मुखपत्र “तरूण”को पहिलो अंकको सम्पादकीय बीपी स्वयंले लेख्ने कुराबाट प्रवासमा ठूलो कौतुहलता जन्माएको थियो–के लेख्नु हुन्छ भनेर। अबको बाटो के हुने ?

‘मेरो बोल्ने मुखलाई न थुन, नयाँ नेपालको अभिव्यक्ति दिनेछ मेरो मुखले।’
‘मेरो कलमलाई न समाऊ, नयाँ नेपालको मार्गचित्र कोर्ने छ मेरो कलमले।’
मेरो हिडने गोडाहरूलाई न छेक, नयाँ नेपालको बाटो पैल्याउने छ मेरा गोडाहरूले।’
राजनीतिक दलको स्वतन्त्रता र बहुदलीय संसदीय व्यवस्थाको आवश्यकता अपरिहार्य हो भने कुराको सरस अभिव्यक्ति दिने यी पंक्तिहरूका साथ सम्पादकीय लेखि प्रकाशित भएको ‘तरूण’ले एकै पटक पुरै देशका तन्नेरी युवाहरूलाई स्पन्दित गरेको थियो। दिग्भ्रमितता हटेको थियो। यसबाट नेकामा राजासंग सम्झौताको लाईन कमजोर हुन गयो। हजारौ मानिसहरू जेलमा कोचिएका थिए। लामो जेल बसाईलाई निरूद्देश्य ठान्न लागेका तेस बेला जेलहरूमा रहेका नेता, कार्यकर्ताहरूमा एक्कासी आफूहरू निश्चित उद्देश्यका लागि थुना परेको र अझै लामो समयसम्म झ्यालखानामा रहनु परे पनि रहने उत्साह जागेर आएको थियो। वास्तवमा सूवर्ण जी स्वयं र उहाँका साथमा रहेका नेता कार्यकर्ताहरू पनि व्यवस्था परिवर्तनका लागि उत्तिकै प्रतिवद्ध हुनुहुन्थ्यो। तर, दुई शिर्षस्थ नेताका बीचको स्पष्टता सबैले चाहेका थिए।

ती दिनलाई संझेर चक्र जीले मलाई भन्नु भाथ्यो–’बुझ्यौ ! केही पंक्तिहरूको ति लेखाईले त मरेको मुर्दाहरूमा पनि साँस जगाइदिएको थियो । बास्तवमा ति पंक्तिहरू मात्र थिएनन्–नेपाली काँग्रेसको नेपाली समाजका बारेमा प्रतिवद्धता तथा परिवर्तनका सपना पो झल्किएको थियो बीपीको लेखाईबाट !’ चक्रजीको मान्यता थियो, बीपीले नेपाली काँग्रेसको परम्परागत धारणाहरूमा फेरी पनि प्रतिवद्धता जनाउनु भयो । राजासंगको सहयोगको वातावरण बनाउदै जाने सोच क्रमशः मथ्थर भएर गयो।

राजनीतिमा अडान भनेकै सुस्पष्ट यात्रको शुभारम्भ हो । राजनीतिमा सपना भनेकै परिवर्तनका कार्यक्रमहरू हुन्छ। अग्रगामी परिवर्तनका ! बृद्ध बाबुले आफूले रोपेको बाली भित्राउन नपाउँदै परलोक गएको खण्डमा छोराले ती बाली घर भित्राउनुलाई राजनीतिक अर्थमा सपना पुरा गरिएको मानिदैन। राजनीतिका सपना भनेको सदैव यथास्थितिलाई वास्तविक परिवर्तनमा रूपान्तरित गर्नु हो।

गिरिजाप्रसाद कोइराला बि.स. २०३७ को जनमत संग्रहपछि नेपाली राजनीतिमा सर्वथा गलत अध्ययन गरिएको व्यक्ति पनि हो । राजा वीरेन्द्रले ‘म पनि विकल्प खोज्छु, तिमी पनि खोज’ भनेको कुरालाई गिरिजाप्रसाद सुस्तरी दरबारको धारमा गयो भनि योजनावद्ध चर्चा गरियो। बि.स. ०४२ को सत्याग्रह हुनु पूर्व जनजीविकाको समस्याहरूलाई आधार मानेर राजा समक्ष पेश गर्न आम जनताको हस्ताक्षर संकलन गर्ने उहाँको अग्रसरतालाई ‘प्रजातन्त्रको भीख माग्न कोईरालाको विन्तिपत्रे राजनीति’ भनियो।

यस्ता घटनाहरूको स्मरण लामै हुन्छ। शाही सत्ताकालमा संसदको पुनस्र्थापनको कोईरालाको अडानलाई अधिकांशले अभेद्य पर्वत उपरको प्रहार भनेको हामीले बिर्सेका छैनौं। जीवनको अन्तिम कालमा पनि उहाँलाई राष्ट्रपति पदको लोभी नै भनियो। तर, २०४६ चैत्रमा यदि गणेशमान सिंहको अडान नरहेको भए तेस बेला संसदीय व्यवस्था आउने थिएन, यसरी नै संसद पुनस्र्थापनको मांगमा गिरिजा प्रसाद कोईरालाको अविचलित अडान नरहेको भए शायद राजनीतिको मोड अन्यत्रै मोडिने थियो होला।

आज यो तथ्य धेरैलाई अपत्यार लाग्न सक्छ कि गिरिजा प्रसाद कोईरालाले योजना मिलाएरै मुलुकमा गणतन्त्रको घोषणा गराउनु भएको हो। यो उहाँको अभिष्ट थियो । शाही सत्ताको समयमा दरबारमा आयोजित एक बैठकमा राजा ज्ञानेन्द्रले बद्री मण्डलबाट उहाँको बेइज्जत गराए पश्चात साँझपख उहाँको उपमानबोधलाई आफ्नै आँखाले देख्नेहरू ठम्याउनेहरूले मात्र त्यसको गूढ थाहा पाउन सक्छ। नभएको गणतन्त्रको एजेण्डा कहाँबाट आयो भनी सात दलको सात सूत्रीय समझदारीमा आँखा घोत्ल्याउनेहरूले यो थाहा पाउन सक्दैन।

श्री ३ को शासन कालमा त्रिपुरेश्वर धर्मशालाबाट गुन्द्रीमा राखिएको पिताजी कृष्णप्रसाद कोइरालाको मृत देहलाई तानेर निकाल्नु परेको दिन गिरिजाप्रसाद कोइरालाको मनमा उठेको एक प्रश्न कि श्री ३ के अर्थमा राजा होइन ? र, प्रजातन्त्र स्थापनाको लामो संघर्षमा धेरै मानिसहरूको राजाको निर्देशनमा नृशंसतापूर्वक हत्या गरिंदा श्री ५ हरू के चरित्रगत तथा आधारभूत फरकले श्री ३ होइनन् ? दह्रो गरी गिरिजाबाबुको मनमा घर बनाएर बसेको यस प्रश्नको जवाफ गणतन्त्रको घोषणा गर्न लगाएर उहाँले पाउनु भएको थियो।