
काठमाण्डौं । चैत २१ गतेबाट सशक्त जनआन्दोलन गर्ने घोषणा संयुक्त जनआन्दोलन समितिले गरेको छ । चैत्र १४ गते राजधानीमा आयाजित पत्रकार सम्मेलनमा नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई आफ्ना माग पुरा गराउन एक हप्ताको अल्टिमेटम पनि दिएको छ । चैत्र १५ मा समितिको आव्हानमा काठमाण्डौंको तीनकुनेमा विशाल प्रदर्शनको तयारी छ । आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई एक हप्तासम्म बेवास्ता गरिएमा चैत २१ गतेबाट सशक्त जनआन्दोलन गर्ने घोषणा आज गरियो ।
पत्रकार सम्मेलनमा समितिका संयोजक सुवेदीले २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन दलहरूलाई आह्वान गरे । उनले भने, ‘यदि हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेमा त्यसबाट सिर्जित हुने परिस्थितिको जिम्मेवार सरकार र गणतन्त्रवादी दलहरू हुनेछन् ।’चैत १६ गते घोडेजात्रा भएकाले त्यस दिन कुनै पनि आन्दोलनका कार्यक्रम नगर्ने निर्णय समितिले लिएको छ । १७ गतेदेखि भने निरन्तर आन्दोलन हुने सुवेदीले बताए । २०४७ को संविधानमा टेकेर संवैधानिक राजसंस्था कायम गर्न सुवेदी नेतृत्वको जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरुलाई अपिल गरेको छ ।
सुवेदी नेतृत्वको जनआन्दोलनको कमाण्डर राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईलाई तोकिएको छ ।संयुक्त जनआन्दोलनको जनकमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिईएको जानकारी पनि संयोजक सुवेदीले दिए । यस्तै धवलशमशेरको नेतृत्वमा १ हजार १११ सदस्यीय आन्दोलन परिचालन समिति गठन पनि भएको छ ।