+

राजा फर्काउने जनआन्दोलनः नवराजका सारथि दुर्गा, कमरेडपछि कमाण्डर

१३ चैत्र २०८१, बिहीबार १२:०९

उज्यालो नेपाल टिप्पणी ।
चैत्र १५ देखि सुरु हुने तेस्रो जनआन्दोलनको नेतृत्वकत्र्ता हुन नवराज सुवेदी । उनले राजा, राजसंस्था, सनातन हिन्दु राष्ट्रका लागि आफैं नेतृत्वमा चैत्र १५ देखि जनआन्दोलनको आव्हान गरेका छन । उनको आन्दोलनको लक्ष्य २०४७ को संविधानलाई टेकेर संवैधानिक राजसंस्था फर्काउनु हो । आन्दोलनको मुख्य संयोजन आफूले गर्दा पनि राजसंस्था पुर्नस्थापना गर्ने जनआन्दोलनको जनकमाण्डर भने सुवेदीले अभियन्ता दुर्गा प्रसाईलाई बनाउने घोषणा गरे ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रहर, वाध्यता वा आदेश के कारणले गरे, तर आन्दोलनको कमाण्डर भने प्रसाईलाई नै करार गरे । यो कुराको साक्षी राप्रपाका नेताहरु डा. प्रकाशचन्द्र लोहनी, बिक्रम पाण्डे, धबल शम्शेर राणाहरुदेखि नेपाल प्राज्ञिक मन्चका संयोजक डा. जगमान गुरुंगहरु समेत रहे । चैत्र १४ गते पत्रकार सम्मेलनमा यस्तो घोषणा गरिरहदा धेरै खाले राजावादी, हिन्दुवादी शक्ति समुहहरु कार्यक्रममा उपस्थित थिए ।

धेरै राजावादीहरुलाई राजा ल्याउनु छ तर दुर्गा प्रसाई र उनको शैली मन पर्दैन । कतिपयलाई उनको अग्र्यानिक शैली, अराजक बोली मन पर्दैन । खाँटी राजावादीहरु प्रसाईलाई मन पराउने र मन नपराउने सरोबर जस्तै छन । तर जसलाई मन परे पनि नपरे पनि अब राजा र हिन्दु अधिराज्य फर्काउने आन्दोलनका कमाण्डर भने दुर्गा प्रसाई नै भएका छन । पत्रकार सम्मेलनमा आफू कमाण्डर घोषित हुनु पूर्व उनले चैत्र १४ मा नै निर्मलनिवासमा राजा ज्ञानेन्द्रसंग भेटवार्ता समेत गरेका खबरहरु बाहिरिएका थिए । ती खबरहरुको खण्डन कुनै पक्षले पनि नगरेका कारण उनले निर्मल निवासकै रुचि र रोजाईमा जनआन्दोलनको कप्तानी पाएको तथ्य सहजै बुभ्mन सकिन्छ ।

दुर्गा प्रसाई कस्ता छन र को हुन भन्नेबारे समाजले पर्याप्त जानकारी पाएको छ । अबको प्रश्न प्रसाईले यो राजा फर्काउने आन्दोलनलाई वारपार गर्न सक्लान की नसक्लान भन्ने मात्रै हो । उनको बिगत, शैली र शक्तिको आधारमा भन्न सकिन्छ, दुर्गा प्रसाई नदीमा बगिरहने ढुंगा हुन,त्यसैले उनमा गतिशिलता छ, लेउ वा झ्याँउ छैन । उनमा साहस छ, निडरता छ, लडाकु, जुझारु क्षमता छ । उनी कडा मिजासका, रुखो बोलीका तर लक्ष्यमा प्रतिवद्ध लडाकु हुन । उनी कम राजनीतिक, शून्य कुटनीतिक तर प्रष्टवक्ता र हक्की लिडर हुन ।

उनले राजेन्द्र लिंग्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, केशरबहादुर विष्ट नेतृत्वको
राष्ट्रिय शक्ति जस्ता राजावादी राजनीतिक शक्तिले पनि ल्याउन नसकेको राजावादी आन्दोलनको उभार ल्याएकै हुन । उनले २ वर्ष मंसिर ७ मा नै तत्कालिन सरकार र गणतन्त्रवादीहरुको मुटु हल्लाईदिएका हुन । उनले असंगठित रहेरै पनि सत्ता र गणतन्त्रलाई धाबा बोलेकै हुन । सत्ताको प्रहारको निसानामा पट्क पट्क परेर हिरासत र मुद्धा मामला खेपेकै हुन ।

अहिले संयुक्त जनआन्दोलनको जनकमाण्डरको जिम्मा पाउँदासम्म दुर्गा प्रसाई बलिया भएका छन । उनले नवराज सुवेदी जस्ता पुराना पाका, अनुभवी नेताको साथ पाएका छन । झन राप्रपाका डा. प्रकाशचन्द्र लोहनीदेखि धबल शम्शेर राणहरुको साथ पाएका छन । उनलाई राजनीतिक अविभावकत्व प्रँप्त भएकोले अब प्रसाई आन्दोलनको मैदानमा थप जुझारु, आक्रामक र लडाकु देखिने छन । उनले हार्न कमै जानेका छन । उनले जित्नलाई जुध्न जानेका छन, जुध्न सक्ने शक्ति र शैली जनयुद्धदेखि नै जानेका छन ।

पूर्व माओवादी वा पूर्व एमालेदेखि विवादाष्पद व्उवसायी भनेर उनको जति आलोचना गरे पनि अब उनी एउटा आन्दोलनका कमाण्डर भएका छन । उनले यो कमाण्डरसीपमा जित्न सहज छैन, तर असंभव पनि छैन । उनले सबै राजावादी समुहहरुको अक मन जित्न कोशिस गर्नुपर्छ । राप्रपा, राप्रपा नेपाल लगायत दलहरुले अब नैतिक मात्रै हैन, भौतिक रुपमा नै आन्दोलनका कमाण्डरलाई साथ समर्थन दिनुपर्छ । किन भने आन्दोलनको मैदानमा जो पहिला उत्रिन्छ र भिडछ उसले नै समर्थन पाउने हो । त्यसमाथि नवराज सुवेदी राजाले रुचाएका संयुक्त जनआन्दोलन समितिका संयोजक हुन भन्ने कथ्य साँचो हो भने, नवराजका सारथि दुर्गा नै बने । यही सत्य हो ।

आन्दोलनको मैदानमा दुर्गाको शक्ति परीक्षा सुरु भएको छ । उनले गणतन्त्रवादी शक्ति सप्पैसंग एकैसाथ लडनु छ । उनले एकैसाथ सरकारसंग पनि भिडनु छ । उनले हारेमा राजा र राजसंस्थाको मुद्धामाथि नै स्थायी पूर्णबिराम लाग्ने खतरा छ, तर उनले जितेमा देशमा युगिन परिवर्तनको श्रीगणेश हुने पक्का छ । त्यसैले अहिले नवराजका सारथि दुर्गालाई आन्दोलन सफलताको शुभाकामना भन्नु नै पर्छ ।