
काठमाडौं । कुवेतले हङकङमा जारी चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेपाललाई १७५ रनको लक्ष्य दिएको छ ।
हङकङको मोङ कोकमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनायो ।
कुवेतका ओपनर रविजा सन्द्रावरुनले आक्रामक ब्याटिङ गर्दै ६३ रन बनाए । उनले ३६ बलमा ६ चौका र चार छक्का प्रहार गरे ।
यस्तै, अर्का ओपनर क्लिन्टो आन्टोले १४ बलमा एक चौका र तीन छक्कासहित २६ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ४.२ ओभरमा ४९ रनको साझेदारी गर्दै कुवेतलाई बलियो सुरुवात दिलाएका थिए ।
उस्मान पटेलले २३ रन जोड्दा मित भावसरले १६ र कप्तान मोहम्मद अस्लामले १३ रन बनाए । लिग चरणबाट शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको नेपालले तीन खेलबाट पाँच अंक जोडेको थियो । यसअघि, लिग चरणमा भएको खेलमा नेपालले कुवेतविरुद्ध ६ विकेटको जित निकालेको थियो ।