+

भाटभटेनीमा छरिएको स्याउ, सुन्तला टिप्ने ८ जना हाजिर जमानीमा छुटे

२ बैशाख २०८२, मंगलवार १२:३१

काठमाडौँ । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका मध्ये ८ जनालाई हाजिर जमानीमा छाडिएको छ । हाजिर जमानीमा छाड्न सरकारी वकिल कार्यालयले समेत सहमति दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले आठ जनालाई छाडेको हो ।

हाजिर जमानीमा छुट्नेहरू भाटभटेनी तोडफोड हुँदा भुईँका स्याउ, सुन्तला टिप्नेहरू रहेको प्रहरीले बताएको छ । जसमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सस्मिता बराल छन् ।

पहिलो पटक ६ जनालाई हाजिर जमानीमा छाड्ने सरकारी वकिल कार्यालय सहमति दिएपछि ६ जनालाई छाडिएको थियो । पछि थप दुई जनालाई छाडिएको थियो ।

उनीहरू हाजिरी जमानीमा छुटे पनि मुद्दा भने चलिरहने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । तीनकुने घटनामा अहिलेसम्म ८२ जना पक्राउ परेर मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ । ती मध्ये ८ जनालाई हाजिरी जमानीमा बाहिर राखेर अनुसन्धान गरिएको छ भने ७४ जना अहिले पनि परिसरकै हिरासतमा छन् ।