+

पूर्वानुमानभन्दा माथि चीनको वृद्धि

३ बैशाख २०८३, बिहीबार १२:०९

बेइजिङ । मध्यपूर्वको युद्धका कारण विश्व अर्थतन्त्र अनिश्चिततामा रहेका बेला चीनले भने सन् २०२६ को पहिलो त्रैमासिकमा अपेक्षाभन्दा राम्रो आर्थिक प्रदर्शन गर्दै पाँच प्रतिशत वृद्धि हासिल गरेको छ । यसले बाह्य दबाबबीच पनि चिनियाँ अर्थतन्त्रको स्थायित्वलाई देखाएको विश्लेषकहरूले बताएका छन् ।

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबिएस) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीदेखि मार्चसम्मको अवधिमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको कुल गार्हस्थ उत्पादन (जिडिपी) वार्षिक आधारमा पाँच प्रतिशतले वृद्धि भएको छ । यो दर एएफपीले गरेको ४.८ प्रतिशतको पूर्वानुमानभन्दा माथि रहेको हो ।

सरकारले यस वर्षका लागि ४.५ देखि ५.० प्रतिशतसम्मको आर्थिक वृद्धिदर लक्ष्य राखेको छ, जुन पछिल्ला दशकहरूमा सबैभन्दा न्यून लक्ष्यमध्ये एक मानिन्छ । यद्यपि, पछिल्ला वर्षहरूमा रियल स्टेट क्षेत्रमा देखिएको दीर्घकालीन सङ्कट र आन्तरिक उपभोगमा आएको सुस्तताका कारण नेतृत्वलाई आर्थिक लक्ष्य पूरा गर्न निर्यातमा अझ बढी निर्भर रहनुपरेको छ ।

त्यसैबीच, उपभोक्ता खर्चको सङ्केत दिने खुद्रा बिक्री मार्च महिनामा १.७ प्रतिशतले मात्र वृद्धि भएको छ, जुन ब्लुमबर्गले गरेको २.४ प्रतिशतको अनुमानभन्दा कम हो । यसले घरेलु माग अझै कमजोर रहेको सङ्केत गरेको छ ।

औद्योगिक उत्पादनतर्फ भने सकारात्मक सङ्केत देखिएको छ । मार्चमा औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि भएको एनबिएसले जनाएको छ, जुन ब्लुमबर्गको ५.३ प्रतिशतको अनुमानभन्दा बढी हो । तर, जनवरी र फेब्रुअरीमा संयुक्त रूपमा रहेको ६.३ प्रतिशत वृद्धिदरको तुलनामा भने यसमा केही सुस्तता आएको देखिन्छ ।

विश्वव्यापी ऊर्जा बजारमा देखिएको अस्थिरताले पनि चीनको आर्थिक अवस्थालाई नजिकबाट प्रभाव पारिरहेको छ । विशेषगरी, इरानसँग सम्बन्धित अमेरिका–इजरायल द्वन्द्वका कारण तेल र ग्यासको मूल्यमा वृद्धि भएको छ । होर्मुज जल डमरूमध्यबाट हुने ढुवानीमा अवरोध आएपछि विश्व ऊर्जा आपूर्ति प्रभावित बनेको छ, जहाँबाट विश्वको झन्डै पाँचौँ भाग तेल तथा ग्यास आपूर्ति हुन्छ ।

यद्यपि, विज्ञहरूले चीनको ऊर्जा आपूर्ति स्रोत विविध भएकाले तत्काल ठूलो धक्का नलाग्ने बताएका छन् । तर, युद्ध लम्बिँदै गएमा विश्वव्यापी आर्थिक मन्दी आउन सक्ने र त्यसले चीनको निर्यात मागमा गिरावट ल्याउन सक्ने चिन्ता भने कायम रहेको छ ।