+

बुलबुले ताल: एक गीतबाट चिनिएको ताल, मोटरबोटले फेरिएको स्वरूप

१८ जेष्ठ २०८२, शनिबार ०१:१२

वीरेन्द्रनगर। “सुर्खेत बुलबुले ताल, माया मै सानो हुनाले छुट्यो माया जाल” — करिब ५० वर्षअघि रेडियो नेपालमा प्रसारित कमला श्रेष्ठको स्वर र प्रेमदेव गिरीको शब्दले सिंगो देशमा सुर्खेतको परिचय गरायो। इन्टरनेट, मोबाइल र सामाजिक सञ्जालको जमाना नहुँदा पनि यही गीतले सुर्खेतको बुलबुले ताललाई जनजनमा पुर्‍यायो।

त्यस समय यातायात र आन्तरिक पर्यटनको पहुँच सीमित थियो, तर गीतमार्फत सुर्खेत र बुलबुले तालको चर्चा व्यापक बन्यो। यही एउटा गीतले देखायो — सरल शब्द र सशक्त लयले पनि ठाउँलाई चिनाउन सकिन्छ। आजसम्म पनि सुर्खेत जाने अधिकांश मानिसको “बकेट लिस्ट” मा बुलबुले ताल पहिलो नम्बरमा रहन्छ।

समयको फेरसँगै बुलबुले ताललाई लिएर कयौं गीत बने, चलचित्र छायांकन पनि भए। तर संरक्षणको अभावमा ताल अस्तित्व संकटमा पुग्यो। यद्यपि पछिल्ला वर्षहरूमा मोटरबोट सञ्चालनसँगै तालले पुनःजीवन पाएको छ।

वि.सं. २०२९ मा राजा वीरेन्द्रको भ्रमणपछि तालको औपचारिक संरक्षण सुरु गरिएको थियो। बुलबुले ताल न केवल पर्यटन गन्तव्य बनेको छ, यो चराचुरुंगीको वासस्थान र स्थानीयका लागि दैनिक जीवनको अंश पनि हो।

आर्थिक र सामाजिक गतिविधिमा नयाँ जीवन

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी)का अनुसार मोटरबोट सञ्चालनपछि बुलबुले तालमा न केवल पर्यटक बढेका छन्, आर्थिक गतिविधि पनि तीव्र भएको छ।

“बुलबुले ताल सुर्खेतको पहिचान हो। हरेक आगन्तुक यहाँ आउँछन्,” ढकाल भन्छिन्। पहिले वार्षिक २५ लाख रुपैयाँ हाराहारीमा मात्रै राजस्व उठ्थ्यो भने अहिले त्यो एक करोड रुपैयाँ नजिक पुगेको छ।

मोटरबोटबाट मात्रै वार्षिक १३ लाख आम्दानी हुन्छ। फोटो खिच्नेलाई बोलकबोलमार्फत ठाउँ दिँदा वार्षिक १२ लाख संकलन हुने गरेको छ। यसले थुप्रै युवालाई रोजगारी पनि दिएको छ।

श्रम र लगानीबाट पुनर्जागरण

बोटेबोरा कम्पनीका सञ्चालक बीबी ढकालले ताललाई जोगाउँदै मोटरबोट सेवा सञ्चालन गर्ने योजना अघि बढाए। सुरुमा डोजर प्रयोग गरिए पनि ताल सफा भएन। अन्ततः उनी आफै पोखरीमा पसेर फोहोर निकाल्न थाले।

ढकालका अनुसार ताल ‘डेड लेक’ जस्तो अवस्थामा पुगिसकेको थियो। सफाइका क्रममा झन्डै १,८६० जनाको श्रम प्रयोग भयो। अहिले त्यो तालमा सरर मोटरबोट चलिरहेछ — जुन कल्पनै गर्न नसकिने अवस्था थियो।

कम्पनीले नगरपालिकासँग वार्षिक १३ लाख बुझाउने सर्तमा सेवा सञ्चालन गर्दै आएको छ। सेवा नेपालकै पहिलो मोटरबोट उत्पादक ‘नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनी’ को ११ सिटे फिस्टेल ब्रान्डका दुई मोटरबोटबाट दिइँदैछ।

रोजगारी, पर्यटन र संरक्षणको संगम

आज बुलबुले ताल नुहाउने वा कपडा धुने ठाउँ मात्र होइन, स्थानीय र पर्यटकका लागि रमाइलो गन्तव्य बनेको छ। सुर्खेतमा अध्ययन गर्ने झन्डै ८० हजार विद्यार्थीका लागि यो छुट्टीको रमाइलो थलो बनिरहेको छ।

बुलबुले तालसँगै काक्रेविहार, देउती बज्यै मन्दिरजस्ता धार्मिक तथा ऐतिहासिक स्थलहरूमा पनि चहलपहल बढेको छ।

ताल संरक्षण उपसमितिका संयोजक नवराज गुरुङका अनुसार मोटरबोट सञ्चालनपछि तालको स्वरूप नै फेरिएको छ। “पहिले केही मात्र मानिस पुग्थे, अहिले दैनिक हजारौं पुग्छन्,” उनी भन्छन्।

उनका अनुसार विगतमा पनि विस्तार प्रयास भए, तर योजनाको कमजोरीका कारण ताललाई फुटबल मैदानसँग तुलना गरिन्थ्यो। नयाँ नेतृत्व र सक्रिय सहभागिताले मात्रै अहिलेको सफलता सम्भव भएको हो।

जमिन मुनिबाट बग्ने पानीका बुलबुलेबाट नाम पाएको ताल आज सुर्खेतको जीवनशैली, पर्यटन र आर्थिक समृद्धिको केन्द्र बनेको छ। निजी क्षेत्रको लगानी, स्थानीय सरकारको साथ र जनसहभागिताले बुलबुले ताल फेरि बुलबुले भएको छ।