
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले सरकारले भूतपूर्व मन्त्री र नेता र कतिपय व्यापारीहरुको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको दुरुपयोग गरिराखेको बताएका छन् । आज (शनिबार) प्रतिनिधिसभाको बेठकलाई सम्बोधन गर्दै उनले ती पूर्वमन्त्री, नेता र व्यापारीहरुको सुरक्षाकर्मी फिर्ता ल्याउन माग गरे ।
‘यतिबेला सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका धेरै सुक्षाकर्मीहरुलाई भूतपूर्व मन्त्रीहरु, कतिपय राजनीतिक दलका नेताहरु, कतिपय व्यापारीहरुको सुरक्षामा खटाएको छ । ऐन कानुनविपरीत यसरी सुरक्षाकर्मीहरुलाई खटाउने कुरा निश्चित रुपमा पनि गम्भीर, बेठीक र गलत छ,’– उनले भने ।
ती सुरक्षाकर्मीहरु कुन–कुन व्यक्तिको सुरक्षाको निम्ति खटाइएको छ भन्ने कुराको जवाफ दिनसमेत उनले गृहमन्त्री रमेश लेखकलाई आग्रह गरे । उनले आफू पनि मन्त्री भएको तर पदबाट हटेकै दिन सुरक्षाकर्मी फिर्ता गरिदिएको बताए । आफू मन्त्री भएको बेला खटिएको सुरक्षाकर्मीहरु अहिले पनि भूतपूर्व मन्त्रीको पछाडि लुरुलुरु हिँडिरहेको उनले बताए ।